काठमाडौं । प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले आफूमाथि लागेका मानव बेचबिखनका गम्भीर आरोपहरूलाई ‘राजनीतिक प्रतिशोध’ को संज्ञा दिँदै दृढतापूर्वक खारेज गरेकी छन् । संवैधानिक परिषद्मा नेपाली कांग्रेसको प्रतिनिधित्व नभएको र आफू विपक्षी भूमिकामा रहेकाले ठूला दलहरूले बहुमत सिद्ध गर्न आफूलाई निशाना बनाएको उनको दाबी छ ।
उपसभामुख रानाले यी निराधार आरोपहरूले आफूलाई विचलित नगर्ने र आफ्नो कर्तव्य पथमा अविचलित रहने प्रतिबद्धता व्यक्त गरिन्। “संवैधानिक परिषद्मा कांग्रेसको कुनै प्रतिनिधि नहुनु र म विपक्षी सदस्य भएकाले ठूला दलहरूले बहुमत सिद्ध गर्न मलाई हटाउन खोजेका हुन्,” उनले स्पष्ट अडान व्यक्त गरिन्।
नेकपा एमालेका सांसद योगेश भट्टराईले लगाएको ‘मानव बेचबिखन’ को आरोपलाई उनले ‘आधारहीन’ भएको बताएकी छन्। उनले भनिन्, “बेचिएका भनिएका बच्चाहरूले एक वर्षअगाडि नै मिडियामा आएर स्पष्ट पारिसकेका छन्। यो आरोप भट्टराईले बिना अध्ययन लगाउनुभएको हो।” रानाले आफ्नो संस्था ‘पीए नेपाल’ ले जेलमा परेका अभिभावकका बच्चाहरूलाई ट्रान्जिट संरक्षण र हेरचाह मात्र प्रदान गरेको प्रस्ट्याइन्। “हामी गरिब परिवारका बच्चाहरूलाई हेरचाह गर्छौं, शिक्षा दिन्छौं तर बेचबिखन होइन,” उनको स्पष्टोक्ति थियो।
आरोपहरूको खण्डनका लागि बच्चाहरू र अभिभावकहरू नै मुख्य प्रमाण भएको उनले बताइन्। “बच्चाहरू नै मिडियामा बोलेर स्पष्ट पारिसकेका छन्। नेताहरूले बच्चा वा अभिभावकसँग सोध्नुपर्छ, तर बच्चाहरूको गोपनीयतामाथि राजनीति गर्नु संगीन अपराध हो।” उनले थपिन्, “यो राजनीति नै हो, नत्र यो विषय पहिल्यै सुल्झिसक्थ्यो। अभिभावकका ठेगाना हामीसँग छन्, सोध्न सकिन्छ। मैले संस्था छोडिसकेँ, तर बच्चाहरूले ‘आमा’ भन्दा भेट्न जान्छु। म सञ्चालक मात्र होइन, आमा बनेर हुर्काएकी हुँ।”
उनले सरकारका गठबन्धन दलहरू कांग्रेस र एमालेले संवैधानिक परिषद्को नियुक्तिमा अप्ठ्यारो परेकाले आफूलाई हटाउन खोजेको दाबी गरिन्। “मेरो राजीनामा माग्ने कुनै आधार छैन। मैले बाल बेचबिखन रोक्न नै काम गरेकी हुँ,” उनले दृढतापूर्वक भनिन्। अमेरिकी दूतावासलाई लेखिएको भनिएको चिठीको विषयमा उनले स्पष्ट पारिन्, “एम्बेसीबाट रिकमेन्ड मागिएको थियो तर मैले चिठी तयार गरे पनि फरवार्ड गरिनँ। यो रजिस्टर भएको छैन, अमेरिका पुगेको छैन।” उनले तत्कालीन पार्टी महामन्त्री मुकुल ढकाललाई जानकारी दिएको र तत्कालीन गृहमन्त्री रवि लामिछाने हुँदा गरिएको छानबिनमा पनि केही नभेटिएको स्मरण गरिन्।
आरोपहरूको प्रहार आफूमाथि व्यक्ति, महिला, जनजाति वा हक्की स्वभावका कारण भएको हो कि भन्नेमा स्पष्टता नभएको बताउँदै उनले भनिन्, “यो प्रहार म, मेरो पार्टी वा समग्रमा भएको हुनसक्छ। यो सरकारले बुझ्ने कुरा हो।” राजनीतिक प्रतिशोधबारे उनले सुझाए, “प्रतिशोधले देश अघि बढ्दैन। प्रतिपक्षको भावना बुझेर जनमुद्दाहरू– स्कुल, बाटोघाटो– मा छलफल गर्नुपर्छ।”
उनले आफ्नो ३५ वर्षको बाल संरक्षण कार्यलाई कलंकित नबनाउन आग्रह गरिन्। “मैले ट्राफिकिङ रोक्न र शिक्षा मार्फत परिवर्तन ल्याउन काम गरेँ। राष्ट्रिय–अन्तर्राष्ट्रिय पुरस्कार पाएकी मलाई बच्चाजस्तो व्यवहार गर्नु राम्रो होइन।” उनले राष्ट्रपति विद्यादेवी भण्डारीको ‘आरोप लाग्ने बित्तिकै पद निलम्बन हुनुहुँदैन’ भन्ने भनाइलाई समर्थन गर्दै भनिन्, “सरकारले लोकतन्त्रको अनुभूति हुने गरी काम गर्नुपर्छ।”




