काठमाडौं । नेपाल एशोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज् (NAS-IT) ले आफ्नो तेस्रो वार्षिक साधारणसभा (AGM) काठमाडौंको होटल सोल्टीमा सम्पन्न गरेको छ । सदस्य कम्पनीका प्रतिनिधि, बोर्ड सदस्य र प्रमुख सरोकारवालाको उपस्थितिमा सम्पन्न सभाले गत वर्षका गतिविधि समीक्षा गर्दै नयाँ नेतृत्व पनि चयन गरेको हो ।
सभाले ई.के. सोलुसन्सका सीईओ गौरव राज पाण्डेलाई अध्यक्षमा निर्वाचित गरेको छ । नवगठित कार्यसमितिमा लोगपोइन्टका राष्ट्र निर्देशक दीपेन चापागाईं उपाध्यक्ष, अम्निल टेक्नोलोजिजकी सीओओ आलिशा श्रेष्ठ महासचिव, र गोक्यो ल्याब्सका सह–संस्थापक अभया पौडेल कोषाध्यक्ष बनेका छन् । अन्य कार्यकारी सदस्यमा लिपफ्रग टेक्नोलोजिजका एसभीपी कैलाश राज बिजयानन्द, एमिनेंस वेजका प्रबन्ध निर्देशक नारायण कोइराला, बी.आई.सी. टेक्नोलोजिजकी सह–संस्थापक प्रार्थना साखा, क्विकफक्स टेक्नोलोजिजका सीईओ रिचन श्रेष्ठ र तत्कालीन अध्यक्ष सन्तोष कोइराला रहेका छन् ।
गत वर्ष नास आईटीले आईटी क्षेत्रको विकासका लागि महत्त्वपूर्ण नीतिगत वकालत गर्दै सरकारसँग निरन्तर संवाद गरेको थियो । यस क्रममा आईटी ऐन, निर्देशिका तथा नियमावलीमा भएका परिवर्तनलाई समीक्षात्मक दृष्टिले नियाली उद्योगको पक्षमा आवाज उठाइएको थियो । संघले अन्तर्राष्ट्रिय स्तरमा नेपालको उपस्थिति बलियो बनाउन महाकुम्भ आईटी कार्यक्रम, वर्ल्ड आईटी शो र एपीआईसीटीए अवार्ड्स २०२४, ब्रुनाईमा समेत सक्रिय सहभागिता जनाएको थियो ।
नास आईटीले नेपाल र युकेबीच प्राविधिक सहकार्य सुदृढ बनाउन भूमिका खेल्नुका साथै ‘करियर कम्पास’, ‘आईटी करियर कार्यशाला’ लगायत कार्यक्रममार्फत युवा पेशेवरको सीप विकासमा योगदान दिएको छ । साथै, साइबर सुरक्षा समिति गठन गरेर उद्योगको सुरक्षा अभ्यासलाई मजबुत पार्ने प्रयाससमेत गरिएको छ ।




