काठमाडौँ । यस वर्षको पहिलो खग्रास (पूरै ढाकिने) चन्द्रग्रहण भाद्र शुक्ल पूर्णिमाका दिन यही भदौ २२ गते आइतबार लाग्ने भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको जानकारीअनुसार, यो खगोलीय घटनाले नेपाली आकाशलाई करिब साढे तीन घण्टासम्म प्रभावित पार्नेछ ।
समितिले स्वीकृति दिएको पात्रो (पञ्चाङ्ग) अनुसार, ग्रहणले भदौ २२ गते राति १० बजेर ११ मिनेटमा स्पर्श गर्नेछ। त्यसपछि राति ११ बजेर ५६ मिनेटमा ग्रहणको मध्य हुनेछ, जुन बेला चन्द्रमा पूर्ण रूपमा ढाकिनेछ। ग्रहणको अन्त्य भने राति १ बजेर ४१ मिनेटमा हुने समितिका पूर्वअध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो। काठमाडौँलगायत नेपालका विभिन्न स्थानबाट यो अद्भुत खग्रास चन्द्रग्रहण स्पष्ट रूपमा देख्न सकिनेछ।
यो ग्रहण विसं २०८२ को पहिलो खग्रास चन्द्रग्रहण हो। समितिले यसै वर्ष आगामी फाल्गुन शुक्ल पूर्णिमामा पनि खण्डग्रास चन्द्रग्रहण लाग्ने जानकारी दिएको छ।
ग्रहणका बेला पालना गर्नुपर्ने शास्त्रीय नियम:
प्रा. अधिकारीका अनुसार, ग्रहणका समयमा बालबालिका, वृद्धवृद्धा र बिरामीबाहेक अन्य व्यक्तिहरूलाई शास्त्रीय रूपमा भोजन निषेध गरिएको छ। भदौ २२ गते आइतबार दिउँसो १३ बजेर ११ मिनेटपछि बाल, वृद्ध र आतुर (दीर्घ रोगी) बाहेकका व्यक्तिले भोजन गर्नु नहुने शास्त्रीय मान्यता रहेको छ। चन्द्रग्रहण सधैँ पूर्णिमा तिथिमा लाग्ने गर्दछ भने सूर्यग्रहण औँसी तिथिमा लाग्ने गर्दछ।
ग्रहणका बेला गरिने दान, जप, ध्यान, होम तथा स्नानको विशेष पुण्य प्राप्त हुने धार्मिक विश्वास छ। ग्रहणको अशुभ प्रभावबाट बच्नका लागि विभिन्न मन्त्रोच्चारण र पूजापाठ गर्ने प्रचलन पनि रहेको छ। समितिले ग्रहणको समयमा अनावश्यक यात्रा नगर्न र सतर्कता अपनाउन सर्वसाधारणमा आग्रह गरेको छ ।




