कथित ‘लिटिल बुद्ध’ बम्जनविरुद्ध उजुरी, आश्रमबाट हराएकाहरूको खोजी सुरु

काठमाडाैँ । ‘लिटिल बुद्ध’ भनेर प्रचार गरिएका रामबहादुर बम्जनको तपस्यास्थलबाट हराएकाहरूकाे खोजी प्रहरी तीव्र पारेको छ। उनीहरू बेपत्ता भएको भन्दै परिवारका सदस्यले उजुरी दिएपछि प्रहरीको सक्रियता बढेको हो।

हराएकाहरूबारे परिवारसँग विस्तृत रूपमा बुझ्ने र बम्जनको तपस्यास्थलबाट तथ्यांक लिने काम भइरहेको प्रहरी उपरीक्षक बुद्धिबहादुर गुरुङले बताए। ‘बम्जन अहिले सिन्धुलीस्थित आश्रममा रहेको अपुष्ट जानकारी आएको छ,’ उनले भने। यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ।

बाराको हलखोरियामा तपस्या सुरु गरेका बम्जनको सिन्धुपाल्चोकको बाँडेगाउँ, सर्लाहीको पत्थरडाँडा, लमजुङ र सिन्धुलीमा तपस्यास्थल रहेको प्रहरीको भनाइ छ।हलखोरियामा आनी बन्न गएकी हेटाैंडा–१६ की पासाङ भन्ने फूलमाया रुम्बा २०७१ देखि हराएकाले खोजी गरिदिन भाइ विजय रुम्बाले बुधबार जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उजुरी दिएका थिए।

मकवानपुरको पदमपोखरी वनस्पतिका महेन्द्र वाइबाले पनि बाबु सञ्चलाल वाइबा बम्जनकै तपस्यास्थलबाट बेपत्ता भएको भन्दै बुधबारै उजुरी गरेका थिए ।
फूलमाया २०६८ मा आनी बन्न घरबाट गएकी थिइन् । त्यतिबेला बम्जन हलखोरियामै थिए । हलखोरियाबाट विभिन्न स्थान हुँदै सिन्धुपाल्चोक पुगे ।
०७१ अन्तिमसम्म फूलमायासँग घरपरिवारको सम्पर्क भइरहेको थियो । त्यसपछि सम्पर्क टुटुेको र खोजी गर्दा फेला नपरेको भाइ विजयले बताए। २०७२ को भूकम्पपछि बम्जनको सिन्धुपाल्चोकस्थित तपस्यास्थल पुग्दा फूलमायासँग भेट्न नपाएको उनले जानकारी दिए। २०७० मा बम्जनसँग हिँडेका सञ्चलाल २०७१ चैत १५ यता सम्पर्कविहीन छन् । सिन्धुपाल्चोकस्थित तपस्यास्थल पुगेर छोरा महेन्द्रले सोधपुछ र खोजी गर्दा फेला पार्न सकेनन् ।
सबैतिर खोज्दा फेला पार्न नसकेपछि उनले प्रहरीमा उजुरी गरेका हुन्।
 
खोजी गर्न परिवारको आग्रह
नुवाकोट म्यगङ गाउँपालिका–३, देउरालीकी चिनीमाया तामाङ पनि ६ वर्षदेखि बेपत्ता भएको भन्दै खोजी गरिदिन आग्रहसहित जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको छ । २९ वर्षीया आनी चुन्मोडोल्मा तामाङ बम्जनको आश्रमबाट हराएको भन्दै उनकी माइली दिदी गंगामायाले उजुरी गरेकी हुन् ।

उजुरीमा ०६८ मा सिन्धुलीमा बम्जनको आश्रममा पढ्न गएकामा २०६९ असोजमा बहिनी र मकवानपुरकी पासाङ तामाङसँग घर आई एक दिन बसेको र आश्रम जान्छौं भनी फर्किएकामा त्यसपछि सम्पर्कविहीन रहेको उल्लेख छ । आश्रममा गई खोजतलास गर्दा ‘यहाँ छैन, कहाँ गएको हो, हामीलाई थाहा छैन’ भनिएको उजुरीमा उल्लेख छ । उनको घरमा बुबा, आमा र दुई भाइ छन् । जेठी, माइली र कान्छी दिदीको विवाह भइसकेको छ । उनी साइँली छोरी हुन् ।
२०६८ मा चिनीमाया बम्जनकामा गएको माइला भिनाजु सञ्जय तामाङले बताए । उनी २०६९ मा एकपटक साथीसँगै घर फर्किएको उनले जानकारी दिए ।
‘आश्रममा पुग्दा २/३ वर्ष तपस्या हुन्छ । त्यतिबेला सम्पर्क गर्न मिल्दैन भने,’ उनले भने, ‘अनि चुप लागेर बसियो । ५/६ वर्षसम्म सम्पर्कमा नआएपछि खोजी गर्न थालेका हौं ।’ नुवाकोटका जिल्ला प्रहरी प्रमुख एसपी कृष्णबहादुर पल्लीमगरले उनको खोजी सुरु गरिएको बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नआत्तिनुहोस्, आर्थिक सुधारको काम हुँदैछ : प्रधानमन्त्री ओली

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको आर्थिक सुधार र संविधान संशोधनको विषयमा आवश्यक छलफल भइरहेको बताएका छन् । विराटनगर विमानस्थलको अतिविशिष्ट कक्षबाट बाहिरिने क्रममा सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले देशको आर्थिक सुधार र संविधान संशोधनका विषयमा छलफल भइरहेको बताएका हुन् ।

प्रतिकृया दिनुहॊस