काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँगको द्विपक्षीय भेटवार्तामा नेपाली भूभाग लिपुलेकलाई व्यापारिक मार्ग बनाउने विषयमा चीन र भारतबीच भएको सहमतिप्रति नेपालको गम्भीर आपत्ति रहेको स्पष्ट पारेका छन् । शाङ्घाई सहयोग सङ्गठन (एससिओ) को शिखर सम्मेलनमा भाग लिन थियानजिन आइपुगेका प्रधानमन्त्री ओलीले थियानमिन स्टेट गेष्ट हाउसमा भएको भेटमा उक्त कुरा राखेका हुन् ।
भेटवार्तामा सहभागी परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईका अनुसार प्रधानमन्त्री ओलीले सन् १८१६ को सुगौली सन्धिबमोजिम महाकालीपूर्वका सबै भूभाग सार्वभौम नेपालको भएकोमा जोड दिएका थिए। उनले भने, “यस मामिलामा चीनले नेपाललाई सहयोग गर्नेछ भन्ने हाम्रो विश्वास छ। नेपाल जसरी आफ्नो भूमि कुनै मुलुकविरुद्ध प्रयोग हुन नदिने विषयमा स्पष्ट छ, त्यसैगरी आफ्नो भूमिका विषयमा अरू मुलुकले गर्ने सहमतिमा पनि उत्तिकै असहमति व्यक्त गर्दछ।”
प्रधानमन्त्री ओलीको भनाइको जवाफमा राष्ट्रपति सीले नेपालको अडानप्रति आफ्नो फरक मत नरहेको र सोबारे नेपाल र भारतबीचको छलफलबाट निष्कर्ष निस्कियोस् भन्ने चाहना व्यक्त गरेको परराष्ट्र सचिव राईले जानकारी दिए। सौहार्दपूर्ण भेटवार्ताका क्रममा दुई देशबीचको मित्रवत् सम्बन्ध र सहकार्यका विविध क्षेत्रमा कुराकानी भयो र सम्बन्ध तथा सहकार्य अभिवृद्धि गर्न दुवै देशका संयन्त्र अग्रसर हुने समझदारी पनि बन्यो। यो प्रधानमन्त्री ओलीको प्रधानमन्त्रीका हैसियतमा चौथो औपचारिक चीन भ्रमण हो भने यसै वर्षको दोस्रो चीन भ्रमण हो।
भेटमा ‘बेल्ट एन्ड रोड इनिसियटिभ’ (बिआरआई) अन्तर्गतका परियोजनालाई द्रूत गति दिन र त्यसबाट नेपालको आर्थिक-सामाजिक समुन्नतिमा सहयोग पुग्ने विषयमा पनि छलफल भएको प्रधानमन्त्री ओलीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडाले जानकारी दिए। उनका अनुसार चीन र भारतबीच थप नाका सञ्चालन गर्न चीन सकारात्मक रहेको र नेपालको निर्यात बढाउन गुणस्तरीय एवं व्यावसायिक कृषि उत्पादनमा सघाउन पनि तत्पर रहेको छ।
नेपाललाई भूपरिवेष्टितबाट भूजडित बनाउने प्रधानमन्त्री ओलीको सङ्कल्पमा सघाउन चीन सधैँ कटिबद्ध रहेको चिनियाँ पक्षले स्पष्ट गरेको छ।
भेटका अवसरमा पूर्वउपप्रधानमन्त्री एवं प्रतिनिधिसभाका सदस्य पूर्णबहादुर खड्का, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, पूर्वमन्त्री एवम् प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. खतिवडा, पूर्वमन्त्री एवम् प्रतिनिधिसभाका सदस्य छविलाल विश्वकर्मा र परराष्ट्र सचिव राई, चीनका लागि नेपाली राजदूत डा. कृष्णप्रसाद ओली, नेपालका लागि चीनका राजदूत चेन सोङलगायतको सहभागिता थियो।
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले बेइजिङमा चीनका उपराष्ट्रपति हान चङ्गसँग पनि भेट गर्नेछन्। साथै, उनले शिखर सम्मेलनका दौरान विभिन्न राष्ट्र तथा सरकार प्रमुखहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यतालिका रहेको छ।




