काठमाडौं। नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (SCT) लाई Payment Card Industry Security Standards Council (PCI SSC) को दक्षिण एशिया क्षेत्रीय संलग्नता बोर्ड (Regional Engagement Board) को सदस्यका रूपमा छनौट गरिएको छ।
नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमति प्राप्त SCT नेपालबाट छनोट हुने एकमात्र संस्था बनेको छ । SCT का अतिरिक्त Google Inc, National Payments Corporation of India (NPCI), Euronet USA LLC जस्ता भुक्तानी क्षेत्रका ठूला सँस्थाहरुको समेत प्रतिनिधित्व रहनेछ ।
PCI SSC एक अन्तर्राष्ट्रिय संस्था हो जसले डिजिटल भुक्तानी प्रणालीको सुरक्षाका मापदण्डहरू विकास, कार्यान्वयन र प्रवर्द्धन गर्दै आइरहेको छ । दक्षिण एशियामा पहिलोपटक गठन भएको यो बोर्ड मार्फत क्षेत्रीय साइबर सुरक्षा चुनौतीहरू न्यूनीकरण गर्न र डिजिटल कारोबारमा सुरक्षा थप मजबुत बनाउने उद्देश्य लिइएको छ ।
SCT को भूमिका
क्षेत्रीय संलग्नता बोर्डको सदस्यका रूपमा SCT ले:
-
दक्षिण एशियामा भुक्तानी सुरक्षासम्बन्धी चुनौती र अवसरबारे परामर्श दिने,
-
मापदण्ड विकासमा सुझाव र प्रतिक्रिया दिने,
-
PCI SSC का मापदण्डबारे शिक्षा र सचेतना फैलाउन मध्यस्थकर्ताको भूमिका निर्वाह गर्नेछ।
SCT का प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरे भन्छन्, “हामीलाई यो प्रतिष्ठित मञ्चमा नेपालको प्रतिनिधित्व गर्न पाउँदा गर्व लागेको छ। यसले नेपालको डिजिटल भुक्तानी सुरक्षाप्रति हाम्रो प्रतिबद्धता प्रमाणित गर्दछ।”
सन् २००१ मा स्थापना भएको SCT, नेपालको पहिलो डोमेस्टिक कार्ड नेटवर्क हो । हाल SCT मार्फत २३ बैंक तथा वित्तीय संस्था, १० भुक्तानी सेवा प्रदायक र ८० भन्दा बढी सहकारी संस्थाहरूका लाखौं ग्राहकले सेवा लिइरहेका छन् ।
संस्थाले वित्तीय समावेशीकरण, नवप्रवर्तन र डिजिटल रूपान्तरणमा योगदान दिँदै नेपालको डिजिटल अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेलेको छ ।




