काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का केन्द्रीय सदस्य एवं युवा नेता ऐन महरविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ। एक महिलाले दिएको साइबर अपराधसम्बन्धी उजुरीका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) अन्तर्गत रहेको साइबर ब्युरोले महरलाई पक्राउ गर्न अनुमति लिएको हो।
प्रहरी स्रोतका अनुसार, महरमाथि लागेको आरोपका विषयमा ब्युरोले गम्भीर अनुसन्धान अघि बढाएको छ। “ऐन महरविरुद्ध एक महिलाले दिएको निवेदनका आधारमा ब्युरोले पक्राउ अनुमति लिएको हो। हामी कानुनी प्रक्रियामा छौं,” प्रहरी स्रोतले पुष्टि गरेको छ।
विद्यार्थी राजनीतिबाट सार्वजनिक जीवनमा प्रवेश गरेका महर अनेरास्ववियुको नेतृत्व हुँदै एमालेको केन्द्रीय कमिटीसम्म आइपुगेका प्रभावशाली नेता मानिन्छन्। बझाङ स्थायी ठेगाना भएका उनी पछिल्लो संघीय निर्वाचनमा बझाङबाट सांसदका उम्मेदवार थिए। तर, उनी नेकपा (एकीकृत समाजवादी) का भानुभक्त जोशीसँग पराजित भएका थिए।
एमाले केन्द्रीय सदस्यजस्तो उच्च पदमा रहेका नेताविरुद्ध साइबर अपराधको आरोपमा पक्राउ पुर्जी जारी हुनुले राजनीतिक वृत्तमा हलचल मच्चिएको छ। यस प्रकरणले पार्टीभित्र र बाहिरसमेत विभिन्न टिकाटिप्पणी सुरु भएका छन्।




