काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ पुनः कृषि विकास बैंक लिमिटेडको ब्रान्ड एम्बेसडरमा नियुक्त भएकी छिन् ।
शुक्रबार राजधानीमा आयोजित एक विशेष कार्यक्रममा बैंकले साम्बालाई आगामी एक वर्षका लागि सद्भावना दूत (ब्रान्ड एम्बेसडर) घोषणा गरेको हो । सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङको उपस्थितिमा उपमहाप्रबन्धक सुदिप कुमार दाहाल र सावित्रा भण्डारीले हस्ताक्षर गरे ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले साम्बाको लोकप्रियता, प्रतिबद्धता र देशका लागि खेलमार्फत गरेको योगदानले बैंकलाई सर्वसाधारणमाझ विश्वासिलो र नजिकको बैंकका रूपमा स्थापित गर्न ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे । बैंकले समाज र खेलकुदसँगको सम्बन्धलाई अझ मजबुत बनाउन यस्तो सहकार्यलाई निरन्तरता दिँदै आएको उनले बताए ।
“साम्बा आज युवा पुस्ताको प्रेरणाको स्रोत बनेकी छिन् । उनले खेल मैदानमा देखाएको संघर्ष र उपलब्धिलाई हामी बैंकिङ क्षेत्रमा पनि प्रेरणाका रूपमा लिन सक्छौं,” प्रमुख कार्यकारी अधिकृत गुरुङले भने, “यो साझेदारी केवल बैंक र खेलाडीबीचको सम्झौता मात्र होइन, यो हाम्रो संस्थागत सामाजिक उत्तरदायित्वको एउटा महत्वपूर्ण कदम पनि हो ।”
सामान्य ग्रामीण क्षेत्रबाट आफ्नो त्याग, संघर्ष र निरन्तरको प्रयासले सावित्राले आफूलाई विश्वमा चिनाउन सफल भएको भन्दै गुरुङले आफ्नो लक्ष्य र सपनालाई साकार पार्न जस्तोसुकै कठिनाइ आए पनि निरन्तर सकारात्मक ऊर्जाका साथ काम गर्दा नतिजा हासिल गर्न सकिन्छ भन्ने उदाहरण बनेकोमा उनीबाट सिक्ने धेरै कुरा रहेको बताए ।
ब्रान्ड एम्बेसडरमा पुनः नियुक्त भएपछि सावित्रा भण्डारीले कृषि विकास बैंक जस्तो प्रतिष्ठित वित्तीय संस्थासँग फेरि सहकार्य गर्न पाउँदा आफू अत्यन्त खुसी रहेको बताइन् । खेलाडीको सफलतामा जनताको विश्वास, माया र सहयोग अपरिहार्य हुने भन्दै उनले बैंकले आफूलाई दिएको जिम्मेवारीलाई गर्वका साथ बहन गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
“म खेल मैदानमा जस्तै इमानदारी, लगनशीलता र समर्पणका साथ बैंकको ब्रान्ड प्रवर्द्धनमा पनि योगदान दिनेछु,” भण्डारीले भनिन्, “हाम्रो साझा प्रयासले बैंक मात्र होइन, समाजमा पनि सकारात्मक सन्देश फैलिनेछ भन्ने विश्वास लिएको छु ।”
सम्झौताअनुसार साम्बाले कृषि विकास बैंकका विभिन्न विज्ञापन, प्रचार–प्रसार गतिविधि, बजार प्रवर्द्धन कार्यक्रम तथा सामाजिक सन्देशयुक्त अभियानमा सक्रिय रूपमा सहभागिता जनाउनेछिन् ।
बैंकले गत वर्षदेखि साम्बालाई ब्रान्ड एम्बेसडर बनाएको थियो । साम्बा नेपाल महिला राष्ट्रिय फुटबल टोलीको सफल कप्तान मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा गोल कीर्तिमान कायम गर्न सफल खेलाडी पनि हुन् । समारोहमा बैंकका उपमहाप्रबन्धक, विभागीय प्रमुखहरू, कर्मचारी प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।




