काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले जीवन बीमा क्षेत्रमा सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी जोखिमलाई न्यूनीकरण गर्ने उद्देश्यले एक उच्चस्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। शुक्रबार राजधानीको हिल्टन होटलमा आयोजित उक्त कार्यक्रममा नेपाल बीमा प्राधिकरणका वरिष्ठ अधिकारीहरूले नयाँ नियामकीय प्रावधानबारे विस्तृत प्रशिक्षण दिएका थिए।
कार्यक्रममा प्राधिकरणको सम्पत्ति शुद्धीकरण निवारण महाशाखाका प्रमुख तथा निर्देशक शाम्बराज लामिछानेले हालै जारी गरिएको “सम्पत्ति शुद्धीकरण निवारण निर्देशिका, २०८२” को महत्त्वमाथि प्रकाश पार्दै यसको अक्षरशः पालना गर्नु सबै बीमा कम्पनीहरूको अनिवार्य दायित्व भएको बताउनुभयो। उहाँले भन्नुभयो, “वित्तीय अपराध रोक्न बीमा क्षेत्र संवेदनशील हुनैपर्छ, यो निर्देशिका त्यसैको लागि एक महत्त्वपूर्ण औजार हो।” उहाँले यस दिशामा हिमालयन लाइफले देखाएको तत्परताको प्रशंसा गर्दै भविष्यमा अझ प्रभावकारी कार्यान्वयनका लागि सुझाव दिनुभयो।
त्यसैगरी, प्राधिकरणका उपनिर्देशक पदम सोडारीले जीवन बीमा व्यवसायमा सम्पत्ति शुद्धीकरणका जोखिमहरू कसरी पहिचान गर्ने, ग्राहकको पहिचान तथा सम्पुष्टि (KYC/CDD) लाई कसरी बलियो बनाउने, र शंकास्पद कारोबारको रिपोर्टिङ कसरी गर्ने भन्ने विषयमा व्यावहारिक तथा प्राविधिक पक्षहरूबारे स्पष्ट पार्नुभएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका सञ्चालक समितिका अध्यक्ष शुलभ अग्रवालले बीमा प्राधिकरणद्वारा जारी गरिएका सबै नीतिनियमको पूर्ण पालना गर्न कम्पनी प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “हाम्रो लागि व्यावसायिक वृद्धिसँगै नियामकीय अनुपालना र सुशासन सधैँ पहिलो प्राथमिकतामा रहन्छ।”
सोही अवसरमा सञ्चालक समिति सदस्य प्रमिला के.सी. र प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले पनि कम्पनी सम्पत्ति शुद्धीकरण निवारणजस्तो संवेदनशील विषयमा अत्यन्त गम्भीर रहेको र यसको प्रभावकारी कार्यान्वयनका लागि कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रमले बीमा क्षेत्रलाई स्वच्छ, पारदर्शी र अपराधमुक्त बनाउन नियामक निकाय र बीमा कम्पनीबीचको सहकार्यलाई थप बलियो बनाएको छ।




