काठमाडौं । पुराना दलहरूको कार्यशैली, भ्रष्टाचार र नातावादको चर्को विरोध गर्दै ‘सुशासन’ र ‘परिवर्तन’ को लोकप्रिय नारासहित उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), स्थापनाको तीन वर्षमै गम्भीर आरोप र विवादको चक्रव्यूहमा फसेको छ । पार्टीका सभापति रवि लामिछाने सहकारी ठगीको गम्भीर मुद्दामा पुर्पक्षका लागि कारागारमा रहेका बेला, उपसभामुखदेखि प्रदेश तहका नेतासम्म एकपछि अर्को गम्भीर नैतिक र आपराधिक प्रकरणमा मुछिएपछि पार्टीको ‘वैकल्पिक शक्ति’ को दाबी र विश्वसनीयतामाथि नै संकट उत्पन्न भएको छ ।
आम निर्वाचनको ६ महिनामै २० सिट जितेर परम्परागत शक्तिलाई चुनौती दिएको रास्वपाको छोटो राजनीतिक यात्रा विवादरहित रहन सकेन । तर, पछिल्ला केही महिनामा सार्वजनिक भएका घटनाक्रमले पार्टीको आधारभूत सिद्धान्त र प्रतिबद्धतामाथि नै प्रश्न उठाएको छ, जसले यसका मतदाता र शुभचिन्तकलाई समेत निराश बनाएको छ । पार्टीको संकटको सुरुवात यसका शीर्ष नेताबाटै भएको छ ।
सभापति रवि लामिछानेमाथि सहकारीको बचत रकम हिनामिना, संगठित अपराध र सम्पत्ति शुद्धीकरणजस्ता गम्भीर अभियोग लागेको छ र उनी हाल पुर्पक्षका लागि थुनामा छन् । यसअघि दोहोरो नागरिकताको विषयमा सर्वोच्च अदालतबाट दोषी ठहर भएपछि उनले उपप्रधान तथा गृहमन्त्री र सांसद पदसमेत गुमाएका थिए । उनको पासपोर्ट दुरुपयोगसम्बन्धी मुद्दा अझै किनारा लाग्न सकेको छैन । पार्टीको नेतृत्वकर्ता नै गम्भीर आपराधिक र नैतिक प्रश्नहरूको घेरामा पर्नुले रास्वपाको जग नै हल्लिएको विश्लेषण गर्न थालिएको छ ।
उपसभामुखको आचरणमाथि गम्भीर प्रश्न
रास्वपाबाटै उपसभामुख जस्तो सम्मानित पदमा पुगेकी इन्दिरा रानामगर पनि विवादबाट अछुतो रहन सकिनन् । उनले पदको दुरुपयोग गर्दै असम्बन्धित व्यक्तिको अमेरिकी भिसा सहजीकरणका लागि दूतावासलाई पत्र लेखेको डेढ वर्ष पुरानो प्रकरण पुनः सतहमा आएको छ । यसका साथै, सभामुखलाई जानकारी नदिई १० पटक विदेश भ्रमण गरेको तथ्य सार्वजनिक भएपछि उनको आचरणमाथि गम्भीर प्रश्न उठेको छ । यही प्रकरणलाई लिएर सत्ता साझेदार दलहरूले उनीविरुद्ध पदमुक्तिको प्रस्ताव दर्ता गर्ने तयारी थालेका छन्, जसले रास्वपालाई थप रक्षात्मक अवस्थामा पुर्याएको छ ।
विवादको शृङ्खला यतिमै सीमित छैन । शुक्रबार मात्रै, रास्वपाका बागमती प्रदेश प्रशिक्षण विभाग संयोजक हरिप्रसाद कँडेललाई प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्र बनाउने र बिक्री गर्ने अन्तर्राष्ट्रिय गिरोहमा संलग्न भएको आरोपमा पक्राउ गरेको छ । आफ्नो नामको अगाडि ‘डाक्टर’ लेख्ने कँडेल यसअघि पनि नक्कली प्रमाणपत्रकै विवादमा परेर विद्यालयको प्रधानाध्यापक हुन अयोग्य ठहर भएका थिए ।
त्यसअघि, पार्टीका समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठले स्वास्थ्यमन्त्री बन्न एक व्यवसायीसँग दुई करोड रुपैयाँको ‘डिल’ गरेको अडियो सार्वजनिक हुँदा रास्वपाको आर्थिक पारदर्शीताको नारा खोक्रो सावित भएको थियो । अडियोमा उनले सभापति लामिछानेको ‘कोर टिम’ लाई रकम बुझाउनुपर्ने बताएका थिए, जसले पार्टीको माथिल्लो तहलाई समेत शंकाको घेरामा तानेको थियो । यद्यपि, पार्टीले उनलाई तत्कालै सांसदबाट पदमुक्त गरेको थियो ।
यस्तै, सभापति लामिछानेका निकट मानिने पूर्वकेन्द्रीय सदस्य मोहनबहादुर थापालाई केही दिनअघि मात्रै अमेरिकाले ‘डिपोर्ट’ (निष्कासन) गर्नुले पनि पार्टीको छविमा धक्का लागेको छ । अमेरिकी अध्यागमन र भन्सार प्रवर्तन (आइसिई)को हिरासतमा करिब पाँच महिना रहनुभएका थापा २०८२ साउन २२ गते राति सवा ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका थिए । सन् २०२५ मार्च ११ मा अमेरिकाको पेन्सिलभेनियया पुगेका उनी मानस्थलमै समातिए । पक्राउ गरी नेपाल डिपोर्ट गरिदिन अमेरिकी सरकारले १९ गते आदेश दिएको थियो । सोहीअनुसार उनी डिपोर्ट भएका हुन् ।
अमेरिकाबाट डिपोर्ट भएर नेपाल फर्काइएका उनलाई अध्यागमन विभागले आवश्यक प्रक्रिया पूरा गरेर थप अनुसन्धानका लागि नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोमा बुझाएको थियो । ब्युरोले आवश्यक जानकारीसम्बन्धी फाराम भर्न लगाएर छाडिएको थियो । उनी सभापति लामिछानेका निकट र रास्वपालाई अमेरिकामा विस्तार गर्नेमध्येका एक मानिन्थ्ये ।
राजनीतिक प्रतिशोधको आरोप
यद्यपि, रास्वपाले यी सबै घटनाक्रमलाई आफूविरुद्धको राजनीतिक प्रतिशोधको रूपमा व्याख्या गरेको छ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै पार्टीकी सचेतक निशा डाँगीले विभिन्न भ्रष्टाचार र अनियमितताका काण्डमा मुछिएका पुराना दलहरूले आफूहरूलाई नैतिकताको पाठ पढाउन नमिल्ने तर्क गरिन् । उनले भनिन्, ‘यो त कस्तो भयो भने, परीक्षामा कहिल्यै पास नभएको विद्यार्थीले अरूलाई कसरी पास हुने भनेर तरिका सिकाएजस्तो भयो ।’
पुराना दलको कार्यशैलीको चर्को आलोचना गर्दै वैकल्पिक शक्तिको नारासहित २०७९ असारमा स्थापना भएको रास्वपाले ६ महिनामै २० सिट जितेर परम्परागत दलहरूलाई चुनौती दिएको थियो । तर, छोटो समयमै पार्टीका संस्थापक महामन्त्री मुकुल ढकाल जस्ता नेताहरू आलोचना गरेकै कारण किनारा लाग्नु र अन्य नेताहरू गम्भीर नैतिक तथा आपराधिक प्रकरणमा मुछिनुले पार्टीको भविष्यमाथि नै प्रश्नचिह्न खडा भएको छ ।
पुराना दलका कमजोरीमाथि टेकेर उदाएको रास्वपा आज आफैँ त्यस्तै कमजोरी र गम्भीर आरोपहरूको सामना गरिरहेको छ । यी समग्र घटनाक्रमले रास्वपाका लागि यो समय एक कठिन ‘अग्निपरीक्षा’ बनेको छ । अब कानुनी र राजनीतिक चुनौतीहरूको सामनासँगै आफ्नो गुम्दै गएको विश्वसनीयता फर्काउनु रास्वपाका लागि सबैभन्दा ठूलो चुनौती हुने देखिन्छ ।




