देशभर बदली : यी तीन प्रदेशमा भारी वर्षाको चेतावनी, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा आफ्नो सामान्य स्थानमा अवस्थित रहँदा र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले देशभर मनसुनी गतिविधि थप सक्रिय बनेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार यस प्रभावले आज देशका अधिकांश भूभागमा बदली रही विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने केही स्थानमा भारी वर्षाको चेतावनीसमेत दिइएको छ ।

महाशाखाले आज दिउँसो बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै देशका अन्य पहाडी भूभागका केही स्थानमा र तराईका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । विशेषगरी, बागमती र कर्णाली प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ । यसैगरी, मधेस प्रदेशका साथै कोशी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा हावाहुरीको पनि सम्भावना रहेकाले सतर्क रहन भनिएको छ ।

हाल देशका पहाडी भूभागमा सामान्य बदली रहेको छ भने बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज राति पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ । यी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षाको आकलन गरिएको छ । गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

भारी वर्षाका कारण बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत असर पर्न सक्ने देखिएकोले महाशाखाले सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन विशेष अनुरोध गरेको छ । नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने र पहाडी क्षेत्रमा पहिरोको जोखिम रहने हुँदा सावधानी अपनाउन आग्रह गरिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री