विद्युत निर्यातमा अर्को सफलता: भारतले किन्यो थप ८० मेगावाट, कुल निर्यात क्षमता ११३० मेगावाट नाघ्यो

काठमाडौं । नेपालको ऊर्जा क्षेत्रले छिमेकी मुलुकसँगको विद्युत व्यापारमा अर्को महत्त्वपूर्ण सफलता हात पारेको छ । भारत सरकारले नेपालका दुई नयाँ जलविद्युत् आयोजनाबाट थप ८० मेगावाट विद्युत् खरिद गर्न स्वीकृति दिएसँगै नेपालको कुल विद्युत निर्यात क्षमताले नयाँ उचाइ छोएको छ ।

भारत सरकारले भदौ ५ गते मेवा खोला जलविद्युत् आयोजनाबाट ४८.५ मेगावाट र करुवा सेती हाइड्रो पावरबाट ३१.०४ मेगावाट गरी कुल ७९.५४ (लगभग ८०) मेगावाट विद्युत् निर्यातका लागि अनुमति दिएको हो । यो नयाँ स्वीकृतिका साथ अब नेपालले भारततर्फ मात्रै कुल १०९०.९ मेगावाट विद्युत् बिक्री गर्न सक्नेछ ।

यसअघि भारतले नेपालबाट १०१०.९ मेगावाट विद्युत् खरिद गर्दै आएको थियो । नयाँ स्वीकृत आयोजनाहरू थपिएपछि वर्षायाममा नेपालमा उत्पादन भई खेर जान सक्ने बिजुलीले भारतीय बजारमा सहज पहुँच पाएको छ, जसले नेपालको व्यापार घाटा न्यूनीकरणमा समेत टेवा पुर्‍याउनेछ ।

भारततर्फको निर्यात क्षमतामा भएको यो वृद्धिले नेपालको समग्र ऊर्जा निर्यातलाई पनि बलियो बनाएको छ । बंगलादेशतर्फ निर्यात हुने ४० मेगावाटसहित अब नेपालको कुल अन्तर्राष्ट्रिय विद्युत निर्यात क्षमता ११३०.९ मेगावाट पुगेको छ ।

यो स्वीकृतिले नेपालको जलविद्युत् क्षेत्रमा विदेशी लगानीलाई थप प्रोत्साहन गर्नुका साथै ऊर्जा व्यापारलाई दुई देशबीचको आर्थिक सम्बन्धको महत्त्वपूर्ण कडीका रूपमा स्थापित गरेको छ । यसले नेपाललाई एक विश्वसनीय ऊर्जा निर्यातकर्ताका रूपमा स्थापित गर्न थप मद्दत पुग्ने विश्वास गरिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री