विद्युत चुहावट रोक्न र २४ सै घण्टा आपूर्ति सुनिश्चित गर्न मन्त्री खड्काको कडा निर्देशन

  • काम नगर्ने कर्मचारीलाई कारबाही गर्ने चेतावनी, मधेशमा सिँचाइ र विद्युत सेवा सुधारमा जोड

जनकपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले मधेश प्रदेशमा व्याप्त विद्युत र सिँचाइसम्बन्धी समस्या तत्काल समाधान गर्न निर्देशन दिएका छन्। उनले प्रदेशमा २४ सै घण्टा विद्युत आपूर्ति सुनिश्चित गर्ने प्रतिबद्धता जनाउँदै चुहावट नियन्त्रणमा शून्य सहनशीलता अपनाउन सम्बन्धित निकायलाई कडा निर्देशन दिए।

बिहीबार जनकपुरमा आयोजित एक कार्यक्रममा मन्त्री खड्काले नेपाल विद्युत प्राधिकरणको प्रादेशिक कार्यालय, जनकपुरका प्रमुख मनोज यादव र सिँचाइ विभागका महानिर्देशक मित्र बरालसहितका अधिकारीहरूसँग प्रदेशको अवस्थाबारे जानकारी लिएका थिए। सो अवसरमा उनले जनताको आवश्यकता र चाहनाअनुसार सेवामा सुधार ल्याउन स्पष्ट निर्देशन दिए।

मन्त्री खड्काले मधेश प्रदेशमा अन्य प्रदेशको तुलनामा विद्युत चुहावटको समस्या भयावह रहेको उल्लेख गर्दै यसलाई तत्काल रोक्न प्रभावकारी कदम चाल्न भने। उनले नागरिकको जीउधनको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दै सुरक्षित विद्युत आपूर्तिको व्यवस्था मिलाउन पनि निर्देशन दिए।

प्रदेशका विभिन्न क्षेत्रमा पटक-पटक बिजुली जाने गरेको जनगुनासोलाई सम्बोधन गर्दै उनले २४ घण्टा विद्युत आपूर्ति सुनिश्चित गर्ने लक्ष्यका साथ काम गर्न कर्मचारीहरूलाई निर्देशन दिए। मन्त्री खड्काले मन्त्रालयले राम्रो काम गर्नेलाई प्रोत्साहन र आफ्नो दायित्व पूरा नगर्नेलाई दण्डित गर्ने नीति लिएको स्पष्ट पार्दै सबैलाई जिम्मेवार बन्न सचेत गराए।

“विद्युत र सिँचाइ क्षेत्रमा सुधार आवश्यक छ,” मन्त्री खड्काले भने, “यो कामलाई प्रोत्साहित गर्दै, जनताको जीवनस्तर उकास्न हामी प्रतिबद्ध छौं।”

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री