राष्ट्रिय वाणिज्य बैंक र नेपाल टेलिकमबीच महत्त्वपूर्ण सम्झौता, कर्मचारी र सेवानिवृत्तलाई विशेष सुविधा

  • निवृत्तिभरण खातादेखि सरल कर्जासम्मका सेवा उपलब्ध हुने

काठमाडौँ । पूर्ण सरकारी स्वामित्वमा रहेका दुई ठूला संस्था, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) बीच एक महत्त्वपूर्ण सम्झौता भएको छ। बिहीबार नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा आयोजित एक समारोहका बीच दुई संस्थाबीच निवृत्तिभरण खाता, तलबी बचत खाता तथा पेसाकर्मी सरल कर्जा सञ्चालनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको हो।

उक्त सम्झौतापत्रमा राष्ट्रिय वाणिज्य बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल र नेपाल टेलिकमका तर्फबाट प्रबन्ध निर्देशक सविना मास्के प्रधानले हस्ताक्षर गरे।

सम्झौता अनुसार, राष्ट्रिय वाणिज्य बैंकले नेपाल टेलिकमका कार्यरत कर्मचारीहरूका लागि तलबी बचत खाता सञ्चालन गर्नेछ भने सेवानिवृत्त कर्मचारीहरूका लागि निवृत्तिभरण (पेन्सन) खाताको व्यवस्थापन गर्नेछ। यसका साथै, टेलिकमका कर्मचारीहरूले बैंकबाट आकर्षक सुविधासहितको ‘पेसाकर्मी सरल कर्जा’ लगायत अन्य बैंकिङ सेवाहरू सहजै प्राप्त गर्न सक्नेछन्।

कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृत पवन रेग्मीले बैंकले आफ्ना सेवाहरूलाई निरन्तर समयसापेक्ष र प्रविधिमैत्री बनाउँदै लगेको जानकारी दिए। वित्तीय समावेशीकरण र दिगो बैंकिङ सेवामा बैंक केन्द्रित रहेको उनको भनाइ थियो।

विसं २०२२ माघ १० गते स्थापित राष्ट्रिय वाणिज्य बैंक मुलुककै अग्रणी वित्तीय संस्था हो, जसले हाल देशभरका ७७ वटै जिल्लामा रहेका ३१० शाखा कार्यालयमार्फत लाखौँ ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ। यो सम्झौताले दुई सरकारी संस्थाबीचको व्यावसायिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै नेपाल टेलिकमका कर्मचारीहरूको वित्तीय पहुँचलाई अझ सरल र सुलभ बनाउने अपेक्षा गरिएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री