काठमाडौं । महालक्ष्मी विकास बैंकले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासिकमा समग्र वित्तीय सूचकहरूमा सकारात्मक सुधार गर्दै सन्तुलित अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले खुद नाफामा उल्लेखनीय वृद्धि गर्दै लगानीकर्ताका लागि सुखद सङ्केत प्रस्तुत गरेको छ ।
बैंकले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को अपरिष्कृत वित्तीय विवरण अनुसार, बैंकको खुद नाफा ५० करोड ३ लाख रुपैयाँ पुगेको छ । यो वृद्धिसँगै बैंकको लाभांश वितरण क्षमतामा पनि उल्लेख्य सुधार देखिएको छ । यस वर्ष बैंकको लाभांश वितरण क्षमता ११.५१ प्रतिशत पुगेको छ, जसले सेयरधनीहरूलाई आकर्षक प्रतिफलको सम्भावना देखाएको छ ।
आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्ममा बैंकले निक्षेप सङ्कलन र कर्जा परिचालन दुवैमा सन्तोषजनक प्रगति गरेको छ । यस अवधिमा बैंकले ५६ अर्ब २२ करोड रुपैयाँ निक्षेप सङ्कलन गरी ४५ अर्ब ८५ करोड रुपैयाँ कर्जा प्रवाह गर्न सफल भएको छ । गत आर्थिक वर्षको तुलनामा कर्जा परिचालनमा ५.०५ प्रतिशतको वृद्धिदर हासिल भएको छ ।[1]
बैंकको वित्तीय स्वास्थ्यका अन्य महत्वपूर्ण परिसूचकहरू पनि सकारात्मक रहेका छन् । आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्ममा सेयरधनी कोषमा प्रतिफल ११.७९ प्रतिशत रहेको छ भने कर्जा निक्षेप अनुपात ८३.९८ प्रतिशत कायम भएको छ । यसैगरी, बैंकको खराब कर्जा अनुपात ४.८६ प्रतिशतमा सीमित रहेको छ, जुन नेपाल राष्ट्र बैंकले तोकेको सीमाभित्रै हो । बैंकको पुँजी पर्याप्तता अनुपात पनि बलियो रहेकाले भविष्यमा व्यवसाय विस्तारका लागि कुनै पुँजीगत दबाब नरहने देखिएको छ ।
बैंकले कोष लागत घटाउन सफल हुनुलाई अर्को महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । प्रकाशित वित्तीय विवरण अनुसार, आर्थिक वर्ष २०८१/८२ को असार मसान्तसम्ममा बैंकको कोष लागत ४.५६ प्रतिशतमा झरेको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २.४७ प्रतिशतले कम हो । कोष लागतमा आएको यो कमीको सकारात्मक प्रभाव बैंकको आधार दरमा समेत देखिएको छ । २०८२ श्रावण मसान्तसम्ममा बैंकको आधार दर ६.५४ प्रतिशत रहेको छ । आधार दर कम हुँदा ऋणीहरूले लिने ऋणको ब्याजदरसमेत कम हुने भएकाले यसको प्रत्यक्ष लाभ ग्राहकहरूले उठाउन सक्नेछन् ।
“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै आएको महालक्ष्मी विकास बैंकले देशभर आफ्ना १०३ शाखा कार्यालयहरूमार्फत ८ लाखभन्दा बढी ग्राहकहरूलाई गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको छ । हालै मात्र बैंकले आफ्नो मोबाइल बैंकिङ्ग एप “महालक्ष्मी स्मार्ट साथी” मा भर्चुअल क्रेडिट कार्डको सुविधा थप गरेको छ, जसले डिजिटल बैंकिङलाई थप सहज बनाएको छ ।




