नेपाली आईटी कम्पनी ब्रोडवे इन्फोसिस विट्साको प्रतिष्ठित ‘डिजिटल ट्यालेन्ट डेभलपमेन्ट अवार्ड’ बाट सम्मानित

काठमाडौँ । नेपाली सूचना प्रविधि (आईटी) कम्पनी ब्रोडवे इन्फोसिसले प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार जितेर नेपालको गौरव बढाएको छ । वर्ल्ड इन्नोभेसन, टेक्नोलोजी एन्ड सर्भिसेज एलायन्स (विट्सा) ले प्रदान गर्ने ‘डिजिटल ट्यालेन्ट डेभलपमेन्ट अवार्ड २०२५’ बाट ब्रोडवे इन्फोसिस सम्मानित भएको हो ।

ताइवानको राजधानी ताइपेईमा आयोजित ‘विट्सा ग्लोबल एआई समिट २०२५’ अन्तर्गत मंगलबार सम्पन्न एक विशेष समारोहमा ब्रोडवेलाई उक्त गरिमामय अवार्ड प्रदान गरिएको हो । नेपालमा व्यावसायिक आईटी तालिममार्फत दक्ष जनशक्ति उत्पादनमा पुर्‍याएको अतुलनीय योगदान र देशको डिजिटल रूपान्तरणमा खेलेको महत्त्वपूर्ण भूमिकाको कदर गर्दै यो सम्मान प्रदान गरिएको आयोजक विट्साले जनाएको छ ।

समारोहमा ब्रोडवे इन्फोसिसका निर्देशकद्वय हरिकृष्ण अधिकारी र उत्तम अधिकारीले संयुक्त रूपमा अवार्ड ग्रहण गरेका थिए । अवार्ड ग्रहणपश्चात् कम्पनीले यो सम्मान केवल ब्रोडवेको प्रयासको नभई नेपालको समग्र आईटी क्षेत्रमा परेको सकारात्मक प्रभावको प्रमाण भएको प्रतिक्रिया दिएको छ ।

विश्वका ८० भन्दा बढी देशका सूचना तथा सञ्चार प्रविधि सम्बन्धी संस्थाहरूको छाता संगठनको रूपमा परिचित विट्साको सदस्यको रूपमा नेपालबाट कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ रहेको छ । ‘एआई सेपिङ द डिजिटल वर्ल्ड’ नाराका साथ आयोजना गरिएको यस वर्षको समिटले आर्टिफिसियल इन्टेलिजेन्सको विकास र प्रयोगमा विश्वव्यापी सहकार्यलाई जोड दिएको छ । विश्वभरका सयौँ कम्पनीहरूले प्रतिस्पर्धा गरेको १३ विभिन्न विधाअन्तर्गत ब्रोडवेले ‘डिजिटल ट्यालेन्ट डेभलपमेन्ट’ विधामा उत्कृष्टता हासिल गरेको हो ।

अवार्ड समारोहसँगै क्यान महासंघको टोलीले ताइवानमा उच्चस्तरीय भेटघाट तथा छलफलमा पनि सक्रियता देखाएको छ । महासंघको टोलीले ताइवानी डिजिटल अफेयर्स मन्त्रालयका मन्त्री डा. यु–नेन ह्वाङसँग भेट गरी नेपालको डिजिटल यात्रा र नीति निर्माणमा क्यानले खेलेको भूमिकाबारे जानकारी गराएको थियो । सो अवसरमा महासंघका महासचिव चन्द्र विलास भुर्तेलले हालै नेपाल सरकारले जारी गरेको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीतिमा क्यान महासंघले दिएका सुझावहरूबारे विस्तृत रूपमा प्रस्तुत गरेका थिए ।

उक्त कार्यक्रममा क्यान महासंघका निवर्तमान अध्यक्ष तथा विट्साका कोषाध्यक्ष रणजित कुमार पोदार, महासंघका प्रबन्धक उदिप बराल लगायतको सहभागिता रहेको थियो । अन्तर्राष्ट्रिय मञ्चमा नेपाली कम्पनी सम्मानित हुनु र नीतिगत तहमा नेपालको प्रयासलाई प्रस्तुत गरिनुले देशको आईटी क्षेत्रका लागि महत्त्वपूर्ण उपलब्धि मानिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री