एनआईसी एशिया लघुवित्तद्वारा प्रगति समीक्षा तथा कर्मचारी तालिम सम्पन्न

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले आफ्ना कर्मचारीहरुको दक्षता अभिवृद्धि गर्ने उद्देश्यले दुई दिने प्रगति समीक्षा, रणनीतिक योजना तर्जुमा बैठक तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौंको रोयल बुटिक होटलमा आयोजित उक्त कार्यक्रममा संस्थाको वार्षिक कार्ययोजना अनुसार गत आर्थिक वर्षको कार्यप्रगतिको समीक्षा गरिएको थियो भने चालु आर्थिक वर्षका लागि आवश्यक रणनीतिहरु तय गरिएको थियो ।

कार्यक्रममा सातै प्रदेशका प्रमुखहरु, ३१ जना अनुगमन अधिकृत, ९ जना कर्जा असुली अधिकृत लगायत ४७ जना कर्मचारीको सहभागिता रहेको थियो । सहभागीहरुलाई सीप र क्षमता अभिवृद्धिका लागि विशेष तालिम प्रदान गरिएको थियो, जसले कार्यसम्पादनमा उत्कृष्टता ल्याउन मद्दत पुग्ने विश्वास संस्थाले लिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै संस्थाका सञ्चालक समिति अध्यक्ष प्रकाशराज शर्माले देश तथा विदेशमा लघुवित्त संस्थाहरुले अपनाएका सफल अभ्यास, यस क्षेत्रका चुनौतीहरु र कर्जाको गुणस्तर कायम राख्न अपनाउनुपर्ने रणनीतिका बारेमा प्रकाश पारेका छन् । उनले कर्मचारीहरुलाई नवीनतम कार्यशैली अपनाउँदै उत्कृष्ट नतिजाका लागि प्रेरित गरे । 

त्यसैगरी, सञ्चालक सदस्य बलराम पौडेलले शाखा कार्यालयहरुको अनुगमनलाई थप प्रभावकारी बनाउन आवश्यक कदम, तौरतरिका र सिद्धान्तहरुबारे उदाहरणसहित प्रष्ट्याए । उनको मन्तव्यले कर्मचारीहरुलाई अनुगमन प्रक्रियालाई थप सुदृढ बनाउन उत्प्रेरणा मिलेको थियो ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत चोलराज शर्मा जोशी, नायब प्रमुख कार्यकारी अधिकृत मेश बहादुर बस्नेत, सहायक प्रमुख कार्यकारी अधिकृत गणेश घिमिरे तथा सहायक महाप्रबन्धक राजेन्द्र न्यौपाने लगायत विभिन्न विभागका प्रमुखहरुले पनि आफ्नो धारणा राखेका थिए । उनीहरुले दैनिक कार्य सञ्चालनमा देखिएका समस्या र त्यसको समाधानका लागि चालिनुपर्ने कदमहरुबारे आ-आफ्ना प्रस्तुति दिएका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री