काठमाडौं । पूर्वपत्नीले बलात्कार र ज्यान मार्ने उद्योगको गम्भीर उजुरी दिएपछि नेपाल प्रहरीका एक निरीक्षक (इन्स्पेक्टर) पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालय, नक्सालस्थित १ नम्बर गणमा कार्यरत इन्स्पेक्टर दिनेश गुरुङलाई पक्राउ गरी प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको हो ।
गुरुङलाई हाल जिल्ला प्रहरी परिसर, ललितपुरको हिरासतमा राखिएको छ । उनीविरुद्ध काठमाडौं जिल्ला अदालतले मंगलबार बलात्कार र ज्यान मार्ने उद्योगको कसुरमा थप अनुसन्धानका लागि पाँच दिनको म्याद प्रदान गरेको परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) चक्रराज जोशीले जानकारी दिए ।
पक्राउ पर्नुअघि इन्स्पेक्टर गुरुङले सामाजिक सञ्जालमार्फत आफू पूर्वपत्नीबाटै पीडित भएको दाबी गरेका थिए । उनले पूर्वपत्नीसँगै बस्दै आएकी छोरीलाई भेट्न जाँदा आफूमाथि दुर्व्यवहार भएको र उल्टै आफूलाई फसाउन खोजिएको आशय व्यक्त गरेका थिए ।
प्रहरीले घटनाको संवेदनशीलतालाई ध्यानमा राखी दुवै पक्षको दाबीमाथि विस्तृत र निष्पक्ष अनुसन्धान भइरहेको जनाएको छ । अनुसन्धान पूरा भएपछि थप विवरण सार्वजनिक गरिने प्रहरीले बताएको छ ।




