काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तीव्र गतिमा परिवर्तन भइरहेको विश्वमा प्रविधिमा अग्रसरता लिनेले मात्र प्रतिस्पर्धामा जित हासिल गर्न सक्ने बताएका छन् । मंगलबार काठमाडौंको भृकुटीमण्डपमा ‘नाडा अटो शो, २०२५’ को उद्घाटन गर्दै उनले वर्तमान सरकारले मुलुकलाई अग्रगमनको यात्रामा डोऱ्याउन व्यवसायीमैत्री नीति लिएको स्पष्ट पारे ।
समारोहलाई सम्बोधन गर्दै उनले सरकारले पूर्वाधार निर्माण, विशेषगरी पूर्व–पश्चिम रेलमार्गको तयारीलाई तीव्रता दिएको जानकारी दिए । अब पहाडमा ‘सिंगल लेन’ सडक निर्माणको अन्त्य गर्दै गुणस्तरीय र दिगो सडक संरचना बनाउन सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो ।
कार्यक्रममा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का अध्यक्ष करण चौधरीले अटोमोबाइल क्षेत्रले देशको अर्थतन्त्र र रोजगारीमा महत्त्वपूर्ण टेवा पुर्याएको बताए । “यस क्षेत्रले हालसम्म १० लाखभन्दा बढी रोजगारी सिर्जना गरेको छ भने करिब तीन लाख व्यापारीलाई संगठित गरेको छ,” उनले भने, “नाडाले नेपालको ९० प्रतिशतभन्दा बढी अटोमोबाइल व्यवसायको प्रतिनिधित्व गर्दछ ।”
चौधरीले बढ्दो युवा पलायनलाई रोक्न नाडाले प्राविधिक तालिममार्फत दक्ष जनशक्ति उत्पादन गर्ने योजना अघि सारेको जानकारी दिए । नेपालमा बिक्री हुने कुल सवारीसाधनमध्ये करिब ४० प्रतिशत नाडा अटो शो मार्फत नै बुकिङ हुने गरेको तथ्याङ्क प्रस्तुत गर्दै उनले आगामी मौद्रिक नीतिले अटोमोबाइल व्यवसायलाई थप सहज बनाउनेमा विश्वस्त रहेको बताए ।
सो अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पछिल्ला केही वर्ष चुनौतीपूर्ण रहे पनि निजी क्षेत्रको सुझावमा ३० भन्दा बढी कानुन परिमार्जन भएपछि अर्थतन्त्रले सकारात्मक लय समातेको बताए । “अहिले बैंक तथा वित्तीय संस्थामा पर्याप्त तरलता छ, यो लगानीका लागि उपयुक्त समय हो,” ढकालले भने । उनले जलविद्युत् निर्यातबाट विदेशी मुद्रा आर्जन बढ्दा अर्थतन्त्र सुदृढ बन्न थालेको उल्लेख गरे ।
यद्यपि, उनले युरो–६ मापदण्ड अकस्मात लागू गरिँदा अटोमोबाइल क्षेत्रले समस्या भोगेको भन्दै सरकारले केही समयका लागि छुट दिनुपर्नेमा जोड दिए ।




