काठमाडौं । म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणाधीन राहुघाट जलविद्युत् आयोजनामा सोमबार पहिरो खस्दा दुई जना मजदुरको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् । आयोजनाको सुरुङमार्गमा काम गरिरहेका बेला माथिबाट खसेको पहिरोले उनीहरूलाई पुरेको थियो ।
रघुगंगा–५ दग्नामको फेदीस्थित आयोजनाको अडिट नम्बर १ (मुख्य सुरुङमा छिर्ने पहुँचमार्ग) मा काम चलिरहेको अवस्थामा माथिबाट सुख्खा पहिरो खसेको थियो । जिल्ला प्रहरी कार्यालय, म्याग्दीका प्रहरी नायब उपरीक्षक (डीएसपी) सूर्यबहादुर थापाले घटनाको पुष्टि गर्दै घाइते भएका पाँचै जनालाई उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको जानकारी दिए ।
“घटनास्थलमा प्रहरीको टोली जाँदैछ । त्यहाँ कार्यरत अन्य कामदारहरूले एक नेपाली र एक विदेशी नागरिकको शव भेटिएको प्रारम्भिक जानकारी दिएका छन्,” डीएसपी थापाले भने, “यद्यपि, मृतक र घाइते कसैको पनि पूर्ण पहिचान खुलिसकेको छैन ।”
प्रहरीका अनुसार, घटनास्थलमा रहेका अन्य मजदुर तथा स्थानीयले पहिरोमा पुरिएकाहरूको उद्धार प्रयास गरेका थिए । घाइतेहरूलाई तत्कालै नजिकको स्वास्थ्य संस्थामा उपचारका लागि लगिएको छ ।
घटनास्थल सदरमुकाम बेनीबाट टाढा र विकट क्षेत्रमा पर्ने भएकाले विस्तृत विवरण आउन केही समय लाग्ने प्रहरीले जनाएको छ । प्रहरी टोली घटनास्थल पुगेपछि मात्रै मृतक तथा घाइतेहरूको पहिचान खुल्ने र घटनाको थप अनुसन्धान अघि बढ्ने बताइएको छ ।




