-
भदौ ३ देखि सुरु हुने १७औं संस्करणमा ७५ वटा स्टल रहने, फ्लाइङ कार र ह्युमनोइड रोबोट पनि प्रदर्शनीमा
काठमाडौं । नेपालको अटोमोबाइल क्षेत्रको सबैभन्दा ठूलो मेला ‘नाडा अटो शो’ यस पटक स्वदेशी उत्पादनको प्रवर्द्धनमा विशेष केन्द्रित हुने भएको छ । भदौ ३ गतेदेखि काठमाडौंमा सुरु हुने १७औं संस्करणको यस प्रदर्शनीमा नेपालमै बनेका हेलमेट, लुब्रिकेन्ट्स, ब्याट्रीदेखि विद्युतीय सवारीसाधनसम्म मुख्य आकर्षणका रूपमा रहनेछन् ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा हुने यस शोमा अटो क्षेत्रको समग्र इकोसिस्टमलाई एकै छानामुनि प्रस्तुत गरिनेछ । विगत केही वर्षदेखि नेपाली उत्पादनलाई प्राथमिकता दिँदै आएको नाडाले यस पटक ‘मेड इन नेपाल’लाई अझ बृहत् स्थान दिएको छ, जसले स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने व्यवसायीहरूको विश्वास छ ।
के-के छन् स्वदेशी उत्पादन?
यस पटकको प्रदर्शनीमा ‘मेड इन नेपाल’ प्याभिलियन र अन्य स्टलहरूमा स्वदेशी उत्पादनको बलियो उपस्थिति देखिनेछ । मेगाटेक ग्रुपले तयार पारेको ‘समुराई’ तीन पाङ्ग्रे सवारीसाधनदेखि नेपालमै उत्पादन हुने दुई पाङ्ग्रे इलेक्ट्रिक बाइक तथा स्कुटर र अटो रिक्सा पनि प्रदर्शनीमा राखिनेछ ।
त्यसैगरी, नाडाका महासचिव सुरेन्द्र कुमार उप्रेतीको एसटीसिसी ग्रुपले नेपालमै उत्पादन गरेको ‘एसटीसी राइड’ र ‘इनर्जी’ लिड एसिड ब्याट्री पनि प्रदर्शनीको हिस्सा बन्नेछन् । कोहिनुर प्लास्टिक इन्डस्ट्रिजले उत्पादन गर्दै आएको केपीआई ब्रान्डको हेलमेटले पनि प्रदर्शनीमा सहभागिता जनाउनेछ ।
केपीआईका संस्थापक सुमन बस्यालले शोमा घरेलु उत्पादनलाई प्राथमिकता दिनु अत्यन्तै सकारात्मक कदम भएको बताउनुभयो । उहाँले भन्नुभयो, “यो प्रदर्शनीले नेपाली उत्पादनको ब्रान्डिङ गर्न, मौलिकता र गुणस्तर देखाउन ठूलो मद्दत पुर्याउँछ । यसले ‘मेड इन नेपाल’ नारालाई सार्थक बनाउन सहयोग गर्नेछ ।”
लुब्रिकेन्ट्स र हेलमेटमा बलियो पकड
हाल नेपाली बजारमा हेलमेटको उत्पादनमा स्वदेशी कम्पनीको हिस्सा ४० प्रतिशत पुगिसकेको छ भने लुब्रिकेन्ट्स बजारमा यो हिस्सा ४० प्रतिशतभन्दा माथि छ । प्रदर्शनीमा नेपाल ल्युब आयल लिमिटेडको ‘गल्फ लुब्रिकेन्ट’ र पूर्वाञ्चल ल्युब आयलको ‘पीएलओ’ ब्रान्ड पनि रहनेछन् । नेपाली बजारमा पूर्वाञ्चल ल्युबको २० प्रतिशत र नेपाल ल्युबको २८ प्रतिशत हिस्सा रहेको छ । स्वदेशी उद्योगीहरूले कच्चा पदार्थ विदेशबाट आयात गरे पनि गुणस्तरमा उत्कृष्ट उत्पादन दिइरहेको दाबी गर्छन् ।
७५ स्टलमा अटो संसार
यस वर्षको अटो शोमा कुल ७५ वटा स्टल रहनेछन् । जसमा चार पाङ्ग्रेतर्फ डिपल, अवतार, सेरेस, टाटा, सुजुकी, टेस्ला, बीवाईडी जस्ता १८ वटा ब्रान्डले सहभागिता निश्चित गरेका छन् । दुई पाङ्ग्रेतर्फ हिरो, रोयल इन्फिल्ड, जोनसन र यामाहाका ४ वटा स्टल रहनेछन् ।
लाइट कमर्सियल भेइकलतर्फ १३ वटा ब्रान्ड र अटो कम्पोनेन्ट्स, टायर, ब्याट्री तथा अन्य एसेसरिजका लागि ४० वटा स्टल रहने नाडाले जनाएको छ ।
विशेष आकर्षण: भिन्टेज कार र भविष्यका प्रविधि
यस पटकको शोमा ‘मेड इन नेपाल’ र ‘भिन्टेज कार’ का लागि छुट्टै प्याभिलियन रहनेछ । साथै, भविष्यको मोबिलिटीलाई ध्यानमा राख्दै आयोजकले ‘फ्लाइङ कार’ (उड्ने कार) र ‘ह्युमनोइड रोबोट’ पनि प्रदर्शनीमा राख्ने योजना बनाएको छ, जसले अवलोकनकर्ताका लागि नयाँ अनुभव प्रदान गर्नेछ । अटो क्षेत्रका विविध आयामबारे छलफल गर्न ‘अटो डायलग’ पनि सञ्चालन गरिनेछ ।



