काठमाडौँ । प्यालेस्टाइनी लडाकु समूह हमासद्वारा बन्धक बनाइएका कञ्चनपुरका नेपाली विद्यार्थी विपिन जोशीको शीघ्र रिहाइको लागि पहल गर्न उनको परिवार इजरायलको उच्च राजनीतिक नेतृत्वसमक्ष पुगेको छ । छोराको खोजीका लागि इजरायल पुगेकी आमा पद्मा जोशी र बहिनी पुष्पाले आइतबार इजरायली राष्ट्रपति आइज्याक हर्जोग र संसदका अध्यक्ष अमिर ओहानासँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् ।
इजरायलस्थित नेपाली दूतावासको समन्वयमा भएको उक्त भेटवार्तामा राजदूत धनप्रसाद पण्डित पनि सहभागी थिए । भेटका क्रममा आमा पद्माले आफ्नो छोरा विपिनको तत्काल रिहाइका लागि पहल गरिदिन राष्ट्रपति हर्जोगसँग अनुरोध गरिन् । त्यसैगरी, बहिनी पुष्पाले पनि बन्धक बनाइएका दाजुलाई सुरक्षित रूपमा नेपाल फर्काउन विशेष पहल गर्न आग्रह गरेको दूतावासले जनाएको छ ।
परिवारको आग्रहपछि राष्ट्रपति हर्जोगले विपिनको घटनाबारे आफू र आफ्नो सरकार निरन्तर सचेत रहेको बताउँदै परिवारलाई आश्वस्त पारेका थिए । ‘नेपाली विद्यार्थी विपिन हाम्रा आफ्नै नागरिक जस्तै लाग्छन् । उनको रिहाइका लागि हाम्रो सरकार दिनरात प्रयत्नरत छ,’ राष्ट्रपति हर्जोगको भनाइ उद्धृत गर्दै दूतावासले भन्यो ।
राष्ट्रपति हर्जोगले विपिनको रिहाइको प्रयासमा प्रगति हासिल गर्न नेपाली सरकारले समेत सम्बन्धित अरब मुलुकहरूसँग थप कूटनीतिक पहल गर्न सके प्रभावकारी हुने विश्वास व्यक्त गरेका थिए ।
यसैगरी, जोशी परिवारले इजरायली संसद (नेसेट) का अध्यक्ष अमिर ओहानासँग पनि भेट गरी विपिनको सुरक्षित फिर्ताका लागि पहल गरिदिन आग्रह गरेका थिए । जवाफमा अध्यक्ष ओहानाले पनि विपिनको रिहाइका लागि प्रयास जारी राखिएको र यसलाई गम्भीरतापूर्वक लिइएको बताएका थिए ।




