काठमाडौं । अस्ट्रेलियामा जारी टप एन्ड टी-ट्वान्टी सिरिजमा नेपालको खराब प्रदर्शनले निरन्तरता पाएको छ । आसिफ शेखले अर्धशतकीय पारी खेले पनि मध्यक्रमका ब्याटर चल्न नसक्दा नेपाल मेलबर्न स्टार्ससँग ३१ रनले पराजित भएको हो । यो प्रतियोगितामा नेपालको लगातार तेस्रो हार हो ।
मेलबर्नले दिएको १७६ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको नेपाल, निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४४ रनमा समेटियो ।
नेपालले आक्रामक सुरुवात गरेको थियो । ओपनर कुशल भुर्तेलले १३ बलमा ४ चौकासहित २५ रन जोडे पनि उनी आउट भएसँगै भीम सार्की मात्र १ रनमा पेभेलियन फर्किए । ३२ रनमा २ विकेट गुमाएको नेपालको इनिङ्सलाई त्यसपछि ओपनर आसिफ शेख र कप्तान रोहित पौडेलले सम्हालेका थिए ।
तेस्रो विकेटका लागि यी दुईबीच ८७ रनको उत्कृष्ट साझेदारी भएपछि नेपाल जिततर्फ उन्मुख देखिएको थियो । तर, रोहित ३३ रनमा आउट भएपछि नेपालको मध्यक्रम धर्मरायो । त्यसलगत्तै ४८ बलमा ५३ रन बनाएर खेलिरहेका आसिफ रनआउट हुनु नै खेलको ‘टर्निङ प्वाइन्ट’ बन्यो । त्यसपछि आएका दीपेन्द्रसिंह ऐरी १ रन र कुशल मल्ल ११ रनमा आउट भएपछि नेपालको जितको सम्भावना समाप्त भएको थियो । आरिफ शेख ८ रनमा अविजित रहे ।
त्यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको मेलबर्न स्टार्सले सन्दीप लामिछानेको उत्कृष्ट बलिङका बाबजुद २० ओभरमा ७ विकेट गुमाउँदै १७५ रनको बलियो योगफल तयार पारेको थियो ।
सोमपाल कामीले दोस्रो रनमै पहिलो विकेट लिएर उत्कृष्ट सुरुवात दिलाए पनि दोस्रो विकेटका लागि ब्लेक म्याकडोनाल्ड र थोमस रोजर्सले १२२ रनको विशाल शतकीय साझेदारी गरे । म्याकडोनाल्डले विस्फोटक ब्याटिङ गर्दै ७४ रन बनाए भने रोजर्सले ४६ रन जोडे ।
नेपालका लागि लेग स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरे । उनले ४ ओभरमा मात्र २६ रन खर्चेर महत्वपूर्ण ३ विकेट लिए । सोमपाल कामी र साहब आलमले एक-एक विकेट लिए ।
यो हारसँगै नेपाल प्रतियोगितामा जितविहीन छ । यसअघि नेपाल नर्दन टेरिटोरी स्ट्राइक र बंगलादेश ‘ए’ टिमसँग पराजित भएको थियो । नेपालले आफ्नो अन्तिम खेल भोलि होबार्ट हरिकेन्ससँग खेल्नेछ ।




