काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सरकारले अब छिट्टै विद्युत् बिक्रीमा समेत निजी क्षेत्रलाई सहभागी गराउने घोषणा गरेका छन् । नेपाल विद्युत् प्राधिकरणको ४०औँ वार्षिकोत्सव समारोहलाई आइतबार सम्बोधन गर्दै उनले सुरक्षित, भरपर्दो र गुणस्तरीय विद्युत् प्रवाह आजको मुख्य आवश्यकता भएको र यसमा प्राधिकरण गम्भीर बन्नुपर्ने बताए ।
“सुरक्षित, भरपर्दो र गुणस्तरीय विद्युत् प्रवाह आजको आवश्यकता हो, यसलाई कार्यान्वयन गर्न विद्युत् प्राधिकरण लाग्नुपर्छ,” मन्त्री खड्काले भने । उनले सेवा प्रवाहको अग्रपङ्क्तिमा रहेका कर्मचारीहरूले समाजप्रति उत्तरदायित्व बोध गर्दै नागरिकमा आशा जगाउने काम गर्नुपर्नेमा जोड दिए ।
सरकारले लिएको दश वर्षे ऊर्जा विकासको लक्ष्य पूरा गर्न प्राधिकरण र निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै उनले भने, “विद्युत् उत्पादनसँगै प्रसारण लाइन निर्माणमा समेत निजी क्षेत्रलाई सहभागी गराइसकेका छौँ । अब चाँडै नै विद्युत् बिक्रीमा पनि निजी क्षेत्रलाई आबद्ध गराउने छौँ ।” सुरक्षित विद्युत् प्रवाहलाई ध्यानमा राखेर ठूला जलाशययुक्त आयोजनालाई सरकारले प्राथमिकतामा राखेको र यसमा निजी क्षेत्रसँग सहकार्य अपेक्षित रहेको उनको भनाइ थियो ।
कार्यक्रममा मन्त्री खड्काले दुई ठूला दल मिलेर बनेको वर्तमान सरकारले आर्थिक विकासमा बाधक बनेका ऐन, कानुनलाई परिमार्जन गर्दै अघि बढेको जानकारी दिए । उनले स्रोतमाथि सबैको अधिकार हुने भन्दै गरिब तथा विपन्न नागरिकलाई बिनाधितो जलविद्युत्को शेयर दिएर उनीहरूको आर्थिक अवस्था उकास्ने योजना रहेको बताए ।
प्राधिकरणको काममा इप्पानको असन्तुष्टि
समारोहमा स्वतन्त्र ऊर्जा उत्पादक संस्था (इप्पान) नेपालका वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले प्राधिकरणकै कार्यशैलीका कारण सरकारले लिएको ऊर्जा विकासको लक्ष्य पूरा हुन नसक्ने भन्दै असन्तुष्टि व्यक्त गरे । उनले पीपीए रोक्ने जस्ता कार्यले निजी क्षेत्र निरुत्साहित भएको भन्दै आवश्यक सहजीकरणका लागि आग्रह गरे ।
प्राधिकरणको प्रतिबद्धता
कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले ऊर्जा विकासको लक्ष्य पूरा गर्न प्राधिकरणले ठूला जलविद्युत् आयोजना र प्रसारण लाइन निर्माणलाई तीव्रता दिएको बताए । उनले आगामी वर्ष काठमाडौँ उपत्यकाका चार लाख घरसहित देशभर स्मार्ट मिटर जडान कार्य प्रारम्भ गरिने जानकारी दिए ।
राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा. आरपी विच्छा र विद्युत् नियमन आयोगका अध्यक्ष डा. रामप्रसाद धितालले सबै नेपालीको घरमा विद्युत्को पहुँच पुर्याउन तथा किफायती र भरपर्दो सेवा दिन प्राधिकरण लाग्नुपर्नेमा जोड दिएका थिए ।
सो अवसरमा प्राधिकरणका उत्कृष्ट १५ कर्मचारी तथा उत्कृष्ट काम गर्ने कार्यालयहरूलाई नगद २५ हजारसहित सम्मान गरिएको थियो ।




