काठमाडौँ । आपराधिक गतिविधिमा लामो समयदेखि संलग्न रहँदै आएका राजू गोर्खाली (राजेन्द्रबहादुर गोर्खाली) बैंकिङ कसुरको आरोपमा पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँको विशेष टोलीले उनलाई आइतबार राजधानीको चन्द्रागिरि क्षेत्रबाट पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) अपीलराज बोहोराले गोर्खालीलाई बैंकिङ कसुरको मुद्दामा अनुसन्धानका लागि पक्राउ गरिएको पुष्टि गर्नुभयो । उनीविरुद्ध १० करोड रुपैयाँको चेक बाउन्सको उजुरी परेको प्रहरीले जनाएको छ । पक्राउ परेका गोर्खालीलाई हाल जिल्ला प्रहरी परिसर, काठमाडौँको हिरासतमा राखिएको छ र बैंकिङ कसुरको मुद्दामा अदालतबाट म्याद थप गरी विस्तृत अनुसन्धान अगाडि बढाउने तयारी भइरहेको छ ।
गोर्खाली नेपाली कांग्रेसको राजनीतिमा समेत सक्रिय छन् । उनलाई २०७९ सालको निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसले उम्मेदवारका लागि सिफारिस समेत गरेको थियो । राजनीतिक आवरणमा आपराधिक गतिविधि सञ्चालन गर्दै आएको आरोप उनीमाथि लाग्दै आएको छ ।
लामो आपराधिक पृष्ठभूमि
गोर्खालीको आपराधिक पृष्ठभूमि लामो र विवादास्पद छ । यसअघि उनी हत्या अभियोगमा १० वर्ष कैद सजाय भुक्तान गरेर छुटेका व्यक्ति हुन् । वि.सं. २०५८ सालमा काठमाडौँको सुन्धारास्थित चर्चित बेबीलोन डिस्कोमा भएको रोशन लिम्बू हत्या प्रकरणमा उनी दोषी ठहर भएका थिए । गोर्खालीले प्रहार गरेको तरबारले लागेर लिम्बूको ज्यान गएको अदालतले ठहर गरेको थियो ।
त्यसबाहेक पनि उनी विभिन्न आपराधिक गतिविधिमा पटक-पटक पक्राउ पर्दै छुट्दै आएका छन् । यसअघि काठमाडौँ मलका व्यापारीलाई धम्क्याएर जबर्जस्ती रकम असुली गरेको अभियोगमा पनि उनी पक्राउ परेका थिए । राजनीतिक संरक्षण र पहुँचका आधारमा उनी आपराधिक क्रियाकलापमा संलग्न भइरहेको आरोप लाग्ने गरेको छ । पछिल्लो पटक ठूलो रकमको बैंकिङ कसुरमा पक्राउ परेपछि उनको अपराध र राजनीतिको सम्बन्धबारे पुनः बहस सुरु भएको छ ।




