काठमाडौं । पहिरोका कारण करिब चार घण्टा अवरुद्ध बनेको नारायणगढ(मुग्लिन सडकखण्ड पुनः सञ्चालनमा आएको छ । आइतबार बिहान इच्छाकामना गाउँपालिका-५ स्थित तुइन खोला नजिकै खसेको पहिरो पन्छाइएपछि दुईतर्फी सवारी आवागमन सुचारु भएको हो ।
सडक डिभिजन भरतपुरका अनुसार, आइतबार बिहान करिब ४ बजे तुइन पुल नजिकै माथिबाट ढुंगासहितको पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो । पहिरो खस्नेबित्तिकै डिभिजन कार्यालयबाट दुईवटा यान्त्रिक उपकरण (एक्स्काभेटर) परिचालन गरी पहिरो पन्छाउने काम थालिएको थियो ।
सडक सुपरभाइजर ईश्वर क्षेत्रीले निरन्तरको प्रयासपछि बिहान ८ बजेर १० मिनेटमा पहिरो पूर्ण रूपमा हटाएर यातायात सञ्चालनमा ल्याइएको जानकारी दिए । सडक खुलेलगत्तै रोकिएर बसेका सयौं सवारीसाधनहरू आ-आफ्नो गन्तव्यतर्फ लागेका छन् ।
यद्यपि, मनसुनको समय सक्रिय रहेकाले देशकै यो व्यस्त राजमार्गमा यात्रा गर्दा पहिरोको जोखिम भने कायमै रहेको भन्दै सडक डिभिजनले सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ ।




