पाँच वर्ष टिक्ने ब्याट्री क्षमतासहित ओप्पोको ‘ए५एक्स’ नेपालमा

काठमाडौं । ओप्पोले नेपालमा आफ्नो लोकप्रिय ‘ए’ सिरिजको नयाँ सदस्य ओप्पो ए५एक्स आधिकारिकरूपमा सार्वजनिक गरेको छ ।

कम्पनीका अनुसार, स्मार्टफोनमा ‘आईपी६५’ स्तरको पानी तथा धुलो प्रतिरोध,  उच्च झटका प्रतिरोध र ६ हजार एमएएच क्षमताको ब्याट्री जडान गरिएको छ । कम्पनीका अनुसार, फोनको ब्याट्री पाँच वर्षभन्दा बढी टिकाउ हुने गरी तयार गरिएको छ ।

कम्पनीका अनुसार, ओप्पो ए५एक्सको बन्द संरचनाले बालुवा, धुलो र छिटपुट पानीको प्रवेश रोक्ने क्षमता राख्छ । फोन बाहिरी गतिविधि, कठिन कार्यस्थल वा अनपेक्षित मौसमका अवस्थामा प्रयोगका लागि उपयुक्त रहेको दाबी कम्पनीको छ ।

फोनमा मजबुत फ्रेम, वाटरप्रुफ ‘यूएसबी–सी’ पोर्ट र दुई तहको सिसा जडान गरिएको छ । जसले सामान्य सिसाको तुलनामा १६० प्रतिशत बढी प्रभाव सहन सक्छ । सिलिकोन ग्यासकेट र उच्च गुणस्तरको इन्जिनियरिङले भित्री भागलाई थप सुरक्षा प्रदान गरेको कम्पनीले जनाएको छ ।

लामो समय टिक्ने शक्ति र छिटो चार्ज
६ हजार एमएएच क्षमताको ब्याट्रीसहित आएको यस फोनले १६.३ घण्टा भिडियो स्ट्रिमिङ, २६.६ घण्टा फोन कल र ४५० घण्टा स्ट्यान्डबाई समय प्रदान गर्न सक्ने कम्पनीको दाबी छ । १७ सय चार्ज चक्रपछि पनि ब्याट्रीमा ८० प्रतिशतभन्दा बढी क्षमता रहने कम्पनीको दाबी छ । यसमा रहेको ४५ वाट ‘सुपरभुक’ फ्ल्यास चार्ज प्रविधिले २१ मिनेटमा ३० प्रतिशत र ८४ मिनेटमा पूर्ण चार्ज गर्न सक्छ ।

स्मार्ट सुविधा र उच्च प्रदर्शन
‘कलरओएस १५’ मा सञ्चालन हुने ए५एक्समा ‘गुगल जेमिनाई’ कृत्रिम बुद्धिमत्ता (एआई) सहायक र उन्नत एआई सुविधा छन्, जसले दैनिक काम सजिलो बनाउने दाबी कम्पनीको छ । यसमा ३२ मेगापिक्सेलको मुख्य क्यामेरा, २ मेगापिक्सेलको डेप्थ क्यामेरा र ५ मेगापिक्सेलको फ्रन्ट क्यामेरा जडान गरिएको छ । एआई आधारित तस्बिर उपकरण र पोट्र्रेट मोडले उत्कृष्ट फोटो खिच्न सहयोग पुर्‍याउँछ ।

‘स्न्यापड्रागन ६एस जेन १’ रहेको स्मार्टफोन ४ प्लस ६४ जीबी, ४प्लस १२८ जीबी र ६प्लस १२८ जीबी भेरियन्टमा उपलब्ध हुनेछ। एक हजार निट्सको अल्ट्रा उज्यालो प्रदर्शन, ३०० प्रतिशत अल्ट्रा ध्वनि मोड, र नेटवर्क स्विचिङ २.० ले खेल, भिडियो स्ट्रिमिङ तथा अनलाइन अनुभवलाई सहज बनाउनेछ ।

कति पर्छ मूल्य ?
ओप्पो ए५एक्स नेपालका सबै अधिकृत खुद्रा बिक्री केन्द्रहरूमा शुक्रबारदेखि बिक्री सुरु भएको छ । ‘मिडनाइट ब्लु’ र ‘लेजर ह्वाइट’ गरी दुई रंगमा उपलब्ध हुनेछ ।

नेपाली बजारमा ४ जीबी र्‍याम र ६४ जीबी स्टोरेज भएको फोनको १४ हजार ९९९ रुपैयाँ रहेको छ । ४ जीबी र्‍याम र १२८ जीबी स्टोरेज भएको फोनको १७ हजार ९९९ रुपैयाँ रहेको छ । त्यस्तै, ६ जीबी र्‍याम र १२८ जीबीको १९ हजार ९९९ रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री