काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको इजाजतपत्र प्राप्त संस्था, स्मार्टच्वाइस टेक्नोलोजिज (एससीटी) लिमिटेडले आफ्नो २४औँ वार्षिकोत्सव सम्पन्न गरेको छ । बिहीबार आयोजित एक विशेष समारोहका बीच कम्पनीले आफ्ना दुई नयाँ र नवीनतम सेवाहरू ‘स्मार्ट क्यूआर साउन्डबक्स’ र ‘एससीटी हब’ सार्वजनिक गरेको छ ।
कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरेले कम्पनीले विगतमा हासिल गरेका उपलब्धिहरू र भविष्यका योजनाहरूबारे विस्तृत जानकारी प्रस्तुत गरे । उनले एससीटी–युनियनपे, भिसा, तथा नेपालपे जस्ता कार्ड सेवा, मोबाइल बैंकिङ, अन्तर-बैंक भुक्तानी, क्यूआर भुक्तानी र मर्चेन्ट व्यवस्थापनमा कम्पनीले हासिल गरेको प्रगति र भावी रणनीतिबारे प्रकाश पारे ।
समारोहमा संस्थाका प्रमुख आविष्कार तथा विकास अधिकृत रजिम अलि मियाले भर्खरै विकास गरिएका ‘स्मार्ट क्यूआर साउन्डबक्स’ र ‘एससीटी हब’ को बारेमा प्रस्तुति दिँदै प्रत्यक्ष प्रदर्शन समेत गरेका थिए ।
के हो स्मार्ट क्यूआर साउन्डबक्स ?
स्मार्ट क्यूआर साउन्डबक्स मर्चेन्ट (व्यापारी) हरूका लागि ल्याइएको एक अत्याधुनिक उपकरण हो । यस मार्फत व्यापारीहरूले आफ्नोमा हुने हरेक क्यूआर भुक्तानीको जानकारी तत्कालै श्रव्य माध्यमबाट सुन्न सक्नेछन् । भुक्तानी हुने बित्तिकै ग्राहकको खाताबाट जम्मा भएको रकमबारे यो बक्सले विभिन्न भाषामा जानकारी दिन्छ । यसलाई वाइफाइमा जोडेर वा सिम कार्ड राखेर सजिलै सञ्चालन गर्न सकिन्छ, जसले गर्दा भुक्तानी छुटेको हो कि भन्ने चिन्ताबाट व्यापारीहरू मुक्त हुनेछन् ।
बैंक तथा वित्तीय संस्थाका लागि ‘एससीटी हब’
त्यस्तै, ‘एससीटी हब’ बैंक तथा वित्तीय संस्थाहरूलाई लक्षित गरी निर्माण गरिएको एक एकीकृत प्लेटफर्म हो । यस प्रविधिमार्फत सदस्य बैंक तथा वित्तीय संस्थाहरूले एटीएम व्यवस्थापन, कार्ड व्यवस्थापन, विवाद समाधान, सतर्कता व्यवस्थापन, प्रयोगकर्ता व्यवस्थापन र रिपोर्ट बनाउने जस्ता विभिन्न सेवाहरू एउटै प्रणालीबाट प्राप्त गर्न सक्नेछन् । यसले बैंकहरूको कार्य सञ्चालनलाई थप सहज र प्रभावकारी बनाउने विश्वास कम्पनीले लिएको छ ।
सन् २००१ मा स्थापित स्मार्टच्वाइस टेक्नोलोजिज नेपालको पहिलो एकीकृत सेयर्ड स्विचिङ पेमेन्ट नेटवर्क सेवा प्रदायक हो । वार्षिकोत्सव कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष, सदस्यहरू तथा सदस्य बैंक र वित्तीय संस्थाका वरिष्ठ कर्मचारीहरूको उपस्थिति रहेको थियो ।




