काठमाडौंमा भारतीय दूतावासद्वारा ७९औँ स्वतन्त्रता दिवस

काठमाडौं । नेपालस्थित भारतीय दूतावासले शुक्रबार एक विशेष समारोहको आयोजना गरी भारतको ७९औँ स्वतन्त्रता दिवस भव्यताका साथ मनाएको छ । काठमाडौंमा आयोजित उक्त कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतीय राष्ट्रिय झण्डा फहराएर समारोहको शुभारम्भ गरे ।

समारोहमा भारतकी राष्ट्रपति द्रौपदी मुर्मुले ७९औँ स्वतन्त्रता दिवसको अवसरमा राष्ट्रको नाममा दिएको सन्देश पढेर सुनाइएको थियो । आफ्नो सम्बोधनमा राष्ट्रपति मुर्मुले पछिल्लो ७८ वर्षमा भारतले हासिल गरेका महत्वपूर्ण उपलब्धिहरूलाई प्रकाश पारेकी थिइन् ।

यस विशेष अवसरमा, राजदूत श्रीवास्तवले भारतीय सशस्त्र बलका दिवंगत सैनिकका श्रीमती तथा निकटतम आफन्तहरूलाई सम्मान गरे । उनले उनीहरूलाई ६ करोड ४० लाख नेपाली रुपैयाँ बराबरको आर्मी ग्रुप इन्स्योरेन्स फण्ड (एजीआइएफ) को चेक हस्तान्तरण गरे ।

शिक्षा क्षेत्रमा नेपाललाई गर्दै आएको सहयोगलाई निरन्तरता दिँदै दूतावासले नेपालका सातै प्रदेशका २१ जिल्लामा रहेका ३९ शैक्षिक संस्था तथा पुस्तकालयहरूलाई पुस्तक अनुदान दिने घोषणा पनि गरेको छ । यो पहलले विशेष गरी दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई शैक्षिक सामग्रीमा पहुँच पुर्‍याउन मद्दत गर्ने विश्वास लिइएको छ ।

राजदूत श्रीवास्तवले नेपाल र भारतबीचको ऐतिहासिक, सांस्कृतिक र आर्थिक सम्बन्धलाई अझ सुदृढ बनाउन भारत सदैव प्रतिबद्ध रहेको बताए । उनले ‘सबका साथ, सबका विकास, सबका विश्वास, सबका प्रयास’ भन्ने भारतको मूल नारा नेपाल-भारत सम्बन्धमा पनि प्रतिविम्बित भएको उल्लेख गरे । ऊर्जा, पूर्वाधार, व्यापार, पर्यटन, शिक्षा र स्वास्थ्य जस्ता क्षेत्रमा दुई देशबीचको सहकार्यले महत्वपूर्ण प्रगति हासिल गरेको उनको भनाइ थियो ।

कार्यक्रममा नेपालमा बसोबास गर्ने भारतीय समुदायका सदस्यहरू, दूतावासका कर्मचारीहरू र उनीहरूका परिवारको उत्साहजनक उपस्थिति रहेको थियो । समारोहमा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र र केन्द्रीय विद्यालय, काठमाडौंका विद्यार्थीहरूले देशभक्तिपूर्ण गीत तथा सांस्कृतिक प्रस्तुतिहरू प्रस्तुत गरेका थिए, जसले कार्यक्रममा विशेष रौनक थपेको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री