कांग्रेसको ‘यु-टर्न’ : भित्र्याएको २४ घण्टामै देवेन्द्र यादवको सदस्यता खारेज

काठमाडौं । नेपाली कांग्रेसले पार्टी प्रवेश गराएको २४ घण्टा नबित्दै लोकतान्त्रिक समाजवादी पार्टीका पूर्वमहामन्त्री देवेन्द्र यादवलाई निष्काशन गरेको छ । यादवमाथि व्यक्ति हत्याको गम्भीर अभियोग लागेको सार्वजनिक भएपछि कांग्रेसले आफ्नो निर्णय फिर्ता लिएको हो ।

बिहीबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवा र महामन्त्री विश्वप्रकाश शर्माले यादवलाई पार्टीमा स्वागत गरेका थिए । तर, यादव सशस्त्र प्रहरीका सहायक निरीक्षक (असई) थम विकको हत्याका फरार अभियुक्त भएको तथ्य बाहिरिएसँगै पार्टीभित्र र बाहिर चर्को आलोचना सुरु भएको थियो । चौतर्फी दबाबपछि कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शुक्रबार विज्ञप्ति जारी गर्दै यादवको सदस्यता खारेज गरिएको जानकारी दिए ।

विज्ञप्तिमा भनिएको छ, “बिहीबार बिहान सभापति र महामन्त्रीबीच छलफल चलिरहेको बेला केही साथीहरूले महोत्तरीका देवेन्द्र यादवलाई ल्याएर सदस्यता प्रदान गर्न आग्रह गरेबमोजिम सभापतिले सदस्यता प्रदान गर्नुभएको हो । तर, बुझ्दै जाँदा निज व्यक्तिउपर फौजदारी कानुनी कारबाही प्रक्रिया रहेको थाहा हुन आएकोले निजले प्राप्त गरेको पार्टी सदस्यता खारेज गरिएको छ ।” कांग्रेसले यादवमाथिको कानुनी कारबाहीको प्रक्रियाबारे गृह प्रशासनको ध्यानाकर्षण गराएको पनि जनाएको छ ।

देवेन्द्र यादव तत्कालीन सद्भावना पार्टीबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका व्यक्ति हुन् । पछि उनी राष्ट्रिय जनता पार्टी (राजपा) हुँदै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा पुगेका थिए ।राजपामा उनी महामन्त्री थिए र विदेश विभाग प्रमुखको जिम्मेवारी पनि सम्हालेका थिए । पेशाले इन्जिनियर रहेका यादव पछिल्लो समय सक्रिय राजनीतिमा थिएनन् । 

के हो असई थम विक हत्या प्रकरण ?

मधेश आन्दोलनका क्रममा २०७२ भदौ २५ गते महोत्तरीमा सशस्त्र प्रहरीका असई थम विकको विभत्स हत्या भएको थियो । संयुक्त राष्ट्रसंघीय मिसनको परीक्षा दिएर ड्युटीमा फर्कंदै गरेका विकलाई आन्दोलनकारीको समूहले एम्बुलेन्सबाट थुतेर कुटपिट गरी हत्या गरेको थियो । 

यसै घटनामा देवेन्द्र यादव पनि आरोपी थिए । उनी फरार भएपछि महोत्तरी जिल्ला अदालतले उनको मुद्दालाई मुल्तवीमा राखेको छ । यही प्रकरणमा महोत्तरी जिल्ला अदालतले २०८० मंसिर २८ गते सञ्जयकुमार साह, प्रदीप साह माझी, मोहन ठाकुरसहित ७ जनालाई जन्मकैदको सजाय सुनाइसकेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री