थाइल्याण्डको सानो संसार काठमाडौंमा: संस्कृति, स्वाद र अवसरको त्रिदिवसीय उत्सव हुँदै

काठमाडौं । काठमाडौंस्थित थाइल्याण्डको राजदूतावासले नेपालीहरूलाई थाइल्याण्डको जीवन्त संस्कृति, मौलिक स्वाद र व्यावसायिक अवसरहरूसँग साक्षात्कार गराउने उद्देश्यले एक विशेष कार्यक्रम आयोजना गर्ने भएको छ । नयाँ दिल्लीस्थित थाई ट्रेड सेन्टरसँगको सहकार्यमा ‘थाइल्याण्डको यात्रा र सन् २०२५ का शीर्ष थाई ब्रान्ड’ नामक यो भव्य कार्यक्रम आगामी भदौ १३ देखि १५ गते (अगस्ट २९ देखि ३१) सम्म पुल्चोकस्थित द प्लाजामा आयोजना हुनेछ ।

शुक्रबार दूतावासमा आयोजित पत्रकार सम्मेलनमा राजदूत सुवापोङ सिरिसोनले कार्यक्रमले थाइल्याण्डको कला, संस्कृतिदेखि व्यापारसम्मका विविध आयामलाई एकै छानामुनि प्रस्तुत गर्ने जानकारी दिनुभयो । यो केवल सांस्कृतिक जमघट मात्र नभई व्यावसायिक र शैक्षिक अवसरको मञ्च पनि बन्नेछ, जहाँ आगन्तुकहरूले प्रसिद्ध थाई व्यवसाय, अस्पताल र विश्वविद्यालयका प्रतिनिधिहरूसँग प्रत्यक्ष भेटघाट गर्ने अवसर पाउनेछन् ।

तीन दिनसम्म चल्ने यो महोत्सवमा आगन्तुकहरूले थाइल्याण्डको समृद्ध सांस्कृतिक सम्पदा झल्काउने मनमोहक प्रस्तुतिहरू हेर्न, मौलिक थाई परिकारको स्वाद लिन, विश्वप्रसिद्ध थाई मसाजको अनुभव गर्न तथा हस्तकला कार्यशालामा सहभागी हुन पाउनेछन् । कार्यक्रमको उद्देश्य थाइल्याण्ड र नेपाललाई अझ नजिक ल्याउनु र दुई देशबीचको पारस्परिक समझदारी र सहकार्यलाई प्रवर्द्धन गर्नु रहेको दूतावासले जनाएको छ ।

सहभागीहरूलाई थप उत्साहित बनाउन आकर्षक पुरस्कारहरूको व्यवस्था गरिएको छ, जसमा सबैभन्दा ठूलो आकर्षणको रूपमा थाइल्याण्डको दुईतर्फी हवाई टिकट जित्ने सुनौलो अवसर रहनेछ ।

कार्यक्रम सर्वसाधारणका लागि निःशुल्क खुला रहनेछ । उद्घाटन समारोह भदौ १३ गते (२९ अगस्ट) दिउँसो २ बजे हुनेछ र सो दिन साँझ ६ बजेसम्म चल्नेछ । त्यसपछिका दुई दिन, भदौ १४ र १५ गते, कार्यक्रम बिहान १० बजेदेखि साँझ ६ बजेसम्म खुला रहनेछ ।

गतवर्ष काठमाडौंमा फिल्म फेस्टिभल सफलतापूर्वक आयोजना गरेको दूतावासले यस्ता कार्यक्रममार्फत दुई देशबीचको जनस्तरको सम्बन्धलाई थप प्रगाढ बनाउने प्रयास गर्दै आएको छ । नेपाल र थाइल्यान्डबीच ३० नोभेम्बर, १९५९ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री