काठमाडौं । मुलुकको बैंकिङ्ग क्षेत्रमा एक महत्वपूर्ण सहकार्यको सुरुवात भएको छ, जसअनुसार अब विकास बैंकका ग्राहकहरूले देशको सबैभन्दा ठूलो वाणिज्य बैंकमार्फत अन्तर्राष्ट्रिय स्तरका बैंकिङ्ग सुविधा सहजै प्राप्त गर्नेछन्। देशकै अग्रणी वाणिज्य बैंक, ग्लोबल आइएमई बैंक लिमिटेड र सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडबीच आफ्ना ग्राहकलाई गैर-कोषमा आधारित बैंकिङ्ग सुविधा प्रदान गर्ने सम्बन्धी एक रणनीतिक समझदारी पत्रमा हस्ताक्षर भएको हो।
उक्त समझदारी पत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले हस्ताक्षर गर्नुभयो।
यो ऐतिहासिक सम्झौतासँगै सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकहरूले अब ग्लोबल आइएमई बैंकमार्फत अन्तर्राष्ट्रिय व्यापार तथा ठेक्कापट्टाका लागि आवश्यक पर्ने प्रतीत-पत्र (लेटर अफ क्रेडिट – LC), बैंक ग्यारेण्टी, डकुमेन्ट अगेन्स्ट पेमेन्ट (DAP), डकुमेन्ट अगेन्स्ट असेप्टेन्स (DAA) जस्ता जटिल तथा महत्वपूर्ण ट्रेड फाइनान्स (Trade Finance) सुविधाहरू सजिलै उपभोग गर्न सक्नेछन्। यो साझेदारीले विकास बैंकमा कारोबार गरिरहेका तर ठूला बैंकिङ्ग सुविधा आवश्यक पर्ने व्यवसायीहरूलाई विशेष राहत मिल्नेछ।
किन महत्वपूर्ण छ यो साझेदारी?
मुलुकका सतहत्तरै जिल्लामा आफ्नो सञ्जाल विस्तार गर्ने पहिलो निजी वाणिज्य बैंकको पहिचान बनाएको ग्लोबल आइएमई बैंकसँगको सहकार्यले सांग्रिला बैंकका ग्राहकहरूको पहुँचलाई फराकिलो बनाएको छ। ग्लोबल आइएमई बैंकले हालै मात्र ग्लोबल फाइनान्सको ‘बेस्ट बैंक अवार्ड २०२४ र २०२५’ तथा ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२४’ जस्ता प्रतिष्ठित अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरी आफ्नो उत्कृष्टता प्रमाणित गरिसकेको छ। बैंकका ३५२ शाखा, ३८४ एटिएम, र विदेशमा रहेका ३ प्रतिनिधि कार्यालयसहित १,००० भन्दा बढी सेवा केन्द्र छन्।
यता, सांग्रिला डेभलपमेन्ट बैंक पनि देशभर १०९ शाखा तथा ३० एटिएममार्फत सेवा प्रदान गर्दै आएको एक स्थापित राष्ट्रिय स्तरको विकास बैंक हो। दुई बैंकबीचको यो सहकार्यले नेपाली बैंकिङ्ग क्षेत्रमा स्वस्थ प्रतिस्पर्धा र साझेदारीको वातावरणलाई प्रवर्द्धन गर्ने विश्वास लिइएको छ ।




