बहुप्रतीक्षित नागढुंगा सुरुङमार्गको दस्तुर तोकियो, कुन गाडीलाई कति लाग्छ ?

काठमाडौं । सरकारले देशकै पहिलो आधुनिक सडक सुरुङमार्ग, बहुप्रतीक्षित नागढुंगा-सिस्ने खोला सुरुङमार्ग, प्रयोग गरेबापत लाग्ने शुल्क टुंगो लगाएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि उपभोग दस्तुर तोक्ने निर्णय गरेको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले उक्त निर्णय सार्वजनिक गरेसँगै अब यो राष्ट्रिय गौरवको आयोजना सञ्चालनको बाटो थप खुलेको छ । आगामी पुस महिनादेखि सञ्चालनमा ल्याउने लक्ष्य राखिएको यो सुरुङमार्ग हाल निर्माणको अन्तिम चरणमा छ । निर्माणको औपचारिक अवधि आगामी कात्तिकसम्म भए पनि निर्माण कम्पनीले दसैंसम्ममा सबै काम सम्पन्न गर्ने दाबी गर्दै आएको छ । शुल्क निर्धारण भएसँगै अब सुरुङमार्गको सञ्चालन तथा व्यवस्थापनका लागि ठेक्का प्रक्रियाबाट निकाय छनोट गर्ने बाटो खुलेको छ ।

सरकारले तोकेको शुल्क संरचनाअनुसार काठमाडौंबाट बाहिरिनुभन्दा भित्रिँदा बढी दस्तुर तिर्नुपर्ने व्यवस्था गरिएको छ । यो निर्णयले काठमाडौंको प्रवेश विन्दुमा हुने ट्राफिक व्यवस्थापन र सुरुङमार्गको मर्मतसम्भार खर्च उठाउन मद्दत पुग्ने देखिन्छ ।

कुन सवारीलाई कति शुल्क ?

मन्त्रिपरिषद्ले गरेको निर्णयअनुसार सवारीसाधनको प्रकार र दिशाका आधारमा फरक-फरक शुल्क तोकिएको छ:-

  • कार/जीप/भ्यान: काठमाडौं आउँदा रु. ६५, बाहिर जाँदा रु. ६०

  • मिनीबस/मिनीट्रक: काठमाडौं आउँदा रु. ११५, बाहिर जाँदा रु. ८०

  • बस/ट्रक (ठूला): काठमाडौं आउँदा रु. २६०, बाहिर जाँदा रु. २००

  • भारी तथा ठूला उपकरण (हेभी इक्विपमेन्ट): काठमाडौं आउँदा रु. ६००, बाहिर जाँदा रु. २५०

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री