- १२०० भन्दा बढी कर्मचारी लाभान्वित हुने, कोषको योजनाप्रति आकर्षण बढ्दो
काठमाडौँ । आफ्ना कर्मचारीहरूको सामाजिक सुरक्षा र भविष्य सुनिश्चित गर्ने उद्देश्यका साथ दुई प्रतिष्ठित लघुवित्त वित्तीय संस्थाहरू नागरिक लगानी कोषको उपदान तथा पेन्सन योजनामा आबद्ध भएका छन् । कोषसँगको यस सहकार्यमा नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था र उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड सामेल भएका हुन्, जसबाट १,२०० भन्दा बढी कर्मचारीहरू प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन् ।
नेरुडे मिर्मिरे लघुवित्तमा कार्यरत करिब १,१०० तथा उपकार लघुवित्तका १०० भन्दा बढी कर्मचारीहरू अब कोषको उपदान योजनामा समेटिनेछन् । संगठित संस्थाहरू र तिनमा कार्यरत कर्मचारीहरूलाई लक्षित गरी सञ्चालित यस योजनामा योगदान वा गैर-योगदानमा आधारित भएर उपदान कोष व्यवस्थापन गर्न सकिने प्रावधान छ । सोही व्यवस्थाअनुसार यी दुवै संस्थाले आफ्ना कर्मचारीको हितका लागि कोषसँग सहकार्य गरेका हुन् । पछिल्लो समय लघुवित्त क्षेत्रमा कोषको यो योजनाप्रति आकर्षण बढेको देखिन्छ, यसअघि नेशनल लघुवित्त वित्तीय संस्था पनि यसमा आबद्ध भइसकेको छ ।
के हो कोषको उपदान तथा पेन्सन योजना ?
वि.सं. २०५५ देखि सञ्चालनमा आएको यो योजना नागरिक लगानी कोषको एक सफल र लोकप्रिय कार्यक्रम हो । यसअन्तर्गत विभिन्न संगठित संस्थामा कार्यरत कर्मचारीहरूको उपदान तथा पेन्सनबापतको रकम संकलन गरी प्रभावकारी रूपमा लगानी गरिन्छ र कर्मचारीको अवकाशपछि एकमुष्ट वा निश्चित अवधिमा भुक्तानी दिइन्छ । हालसम्म यस योजनामा १,१५० संगठित संस्था र त्यहाँ कार्यरत करिब ३३,००० कर्मचारीहरू सहभागी भइसकेका छन् ।
यस योजनामा सहभागी कर्मचारीहरूले व्यक्तिगत रूपमा आवास कर्जा, घर मर्मत, पुनर्निर्माण तथा सजावटका लागि सहुलियतपूर्ण कर्जा सुविधासमेत प्राप्त गर्न सक्छन् । साथै, उनीहरूले विभिन्न आर्थिक, सामाजिक तथा पारिवारिक कार्यका लागि सरल कर्जा पाउने व्यवस्थाले यो योजनालाई थप आकर्षक बनाएको छ ।




