सेयर बजारमा सामान्य गिरावट, कारोबार रकम भने ६ अर्ब १६ करोड

काठमाडौँ । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार परिसूचक (नेप्से) मा सामान्य अंकको गिरावट देखिएको छ । बजारमा बिक्री चाप हाबी हुँदा नेप्से परिसूचक १० अंकले घटेर २७८५ को बिन्दुमा खुम्चिएको हो ।

बजार घटे पनि कारोबार रकम भने उत्साहजनक नै रह्यो । दिनभर ३२१ कम्पनीका १ करोड कित्ता सेयर किनबेच हुँदा कुल ६ अर्ब १६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यसले बजारमा लगानीकर्ताको सक्रियता कायमै रहेको सङ्केत गर्छ ।

बुधबारको कारोबारमा अधिकांश कम्पनीका लगानीकर्ताले गुमाएका छन् । कुल ८९ कम्पनीको सेयर मूल्यमा वृद्धि हुँदा १५९ कम्पनीको मूल्यमा गिरावट आएको छ भने एउटा कम्पनीको मूल्य स्थिर रह्यो ।

कारोबार रकमका आधारमा बलेफी हाइड्रोपावरले अग्रता लियो । कम्पनीको ३४ करोड रुपैयाँ बराबरको सेयर खरिद-बिक्री भयो । त्यसैगरी, युनाइटेड मोदी हाइड्रोपावरको २७ करोड, शिवम् सिमेन्टको २४ करोड, एनआरएन इन्फ्रास्ट्रक्चरको १९ करोड र नेपाल रि-इन्स्योरेन्स कम्पनीको १८ करोड रुपैयाँ बराबरको कारोबार भयो ।

क्षेत्रगत रूपमा हेर्दा व्यापार समूहको सूचक सर्वाधिक १.५० प्रतिशतले ओरालो लाग्यो । यस्तै, बैंकिङ, होटल तथा पर्यटन, हाइड्रोपावर, जीवन तथा निर्जीवन बीमा, र उत्पादनजस्ता अधिकांश समूहका सूचकहरू राताम्य रहे । यद्यपि, विकास बैंक, वित्त र अन्य समूहको सूचकमा भने झिनो सुधार देखिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप