उद्योगी हेमराज ढकाल धितोपत्र बोर्डको सञ्चालकमा नियुक्त

काठमाडौं । नेपालको उद्योग तथा वित्तीय क्षेत्रमा लामो अनुभव सँगालेका प्रतिष्ठित व्यवसायी हेमराज ढकाल नेपाल धितोपत्र बोर्ड (सेबोन) को सञ्चालक समिति सदस्यमा नियुक्त भएका छन् ।

निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधित्व गर्दै महासंघका उपाध्यक्ष ढकालले नियामक निकायमा प्रवेश गरेका हुन् । उनको नियुक्तिसँगै पुँजी बजारको विकास र नीति निर्माणमा निजी क्षेत्रको भूमिका थप प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

बुधबार आयोजित एक कार्यक्रममा बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले नवनियुक्त सञ्चालक ढकाललाई पद तथा गोपनीयताको शपथ गराए । यसअघि सो पदमा महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जनकुमार श्रेष्ठले प्रतिनिधित्व गर्दै आएका थिए । श्रेष्ठले व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएपछि रिक्त रहेको उक्त पदमा महासंघले ढकाललाई पठाउने निर्णय गरेको हो ।

को हुन् ढकाल ?

करिब चार दशकदेखि उद्योग–व्यवसायमा सक्रिय ढकालले वित्तीय क्षेत्रमा पनि तीन दशकभन्दा बढी समय व्यतीत गरिसकेका छन् । उनी ‘हेरिटेज ग्रुप अफ इन्डस्ट्रिज’ का अध्यक्ष हुन्, जसअन्तर्गत हेरिटेज कार्पेट, हेरिटेज म्याट्रेस र हेरिटेज टीजस्ता एक दर्जनभन्दा बढी कम्पनीहरू सञ्चालित छन् ।

महासंघमा वस्तुगततर्फको उपाध्यक्षको जिम्मेवारी सम्हालिरहेका ढकाल साना तथा मझौला उद्योगका समस्या समाधान र निर्यात प्रवर्द्धनका लागि नीतिगत तहमा निरन्तर आवाज उठाउने व्यवसायीका रूपमा चिनिन्छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री