काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद शिशिर खनालले भ्रष्टाचार र बिचौलियाको संरक्षण गर्ने सरकारले मुलुक र लोकतन्त्रलाई दुर्घटनातर्फ लैजाने बताएका छन् । प्रतिनिधिसभाको आज (मंगलबार) को बैठकमा बोल्दै आफूहरूले भिजिट भिसा प्रकरणको कुरा उठाए पनि आवाजलाई निस्तेज पार्ने प्रयास भइरहेको बताए ।
उनले भने, ‘केही दिनअघि गृह मन्त्रालयका कर्मचारीले घुस लिइरहेको सूचना प्रहरीकहाँ पुग्छ । तर, गृहमन्त्रीलाई अप्ठ्यारो पर्छ भनेर छानबिन अघि बढ्दैन । लोकतन्त्र मास्न खोज्नेहरू आफू अनुकूलको कानून बनाउँछन् । न्यायपालिकाको स्वतन्त्रतालाई कुण्ठित पार्छन् । कार्यकारी अधिकार बलियो बनाउँछन् र मिडियामाथि अधिकार जमाउन खोज्छन् ।’
उनले आफूहरूले भिजिट भिसा प्रकरणको कुरा उठाउँदै गर्दा लिचीबारीदेखि कुलिङ पिरियडमाथि बदमासीसम्मको कुरा आउँदा समेत कारबाही नभएको भन्दै आपत्ति जनाएका छन् ।
‘कुलिङ पिरियडको बदमासीमा संसद मौन छ’
सांसद खनालले निजामती विधेयकमा रहेको कुलिङ अफ पिरियडको जिम्मा लिनुपर्छ भन्ने कुरा भएको भए पनि यसमा संसद् मौन भएको बताएका छन् । उनले सरकारका अन्य धेरै बदमासी बाहिरिँदा पनि छानबिन नभएको बताए ।
‘हामी दुई महिनादेखि भिजिट भिसाको छानबिनको माग गरेर आन्दोलित भइराख्दा लिचीबारीको खबर आयो,’ खनालले भने, ‘कुलिङ पिरियडको बदमासीको जिम्मा लिनुपर्छ भन्ने कुरा आयो । तर, पनि संसद मौन छ ।’




