काठमाडौं । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-३, जलुवाटोलस्थित पूर्व-पश्चिम राजमार्गमा आज (सोमबार) बिहान एउटा यात्रुवाहक बस र माइक्रोबस एकआपसमा ठोक्किँदा भएको भीषण दुर्घटनामा तीन जनाले ज्यान गुमाएका छन् । दुर्घटनामा १५ जना घाइते भएका छन् र उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय, सुनसरीका अनुसार काँकडभिट्टाबाट खोटाङको दिक्तेलतर्फ जाँदै गरेको मे१ख १७९९ नम्बरको बस र विपरीत दिशाको विराटनगर-राजविराज रुटमा चल्ने प्रदेश २-०१-००१ ज ००४७ नम्बरको माइक्रोबस (विङ्गर) बिहान करिब ८ बजेतिर एकआपसमा ठोक्किएको थियो । ठक्कर अत्यन्तै शक्तिशाली भएकाले माइक्रोबसमा सवार अधिकांश यात्रु घाइते भएका थिए ।
प्रहरी प्रवक्ता योगराज खतिवडाका अनुसार दुर्घटनामा परी दुई पुरुष र एक महिलाको मृत्यु भएको हो । भोक्राहास्थित ग्लोबल कार्डियो एण्ड न्यूरो अस्पतालमा उपचारका लागि लगिएका दुई पुरुष र जिल्ला अस्पताल इनरुवामा एक महिलाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यद्यपि, मृतकहरूको पहिचान भने खुलिसकेको छैन ।
दुर्घटनामा घाइते भएका १५ जनामध्ये चार जनाको अवस्था गम्भीर रहेको बताइएको छ । घाइतेहरूको इनरुवा अस्पताल, विराटनगरस्थित न्यूरो र नोबेल अस्पताल, तथा भोक्राहास्थित ग्लोबल कार्डियो अस्पतालमा उपचार भइरहेको छ केही गम्भीर घाइतेलाई थप उपचारका लागि विराटनगरको गोल्डेन अस्पतालमा रेफर गरिएको छ ।
प्रहरीले तत्काल घटनास्थल पुगी घाइतेहरूको उद्धार गरेको थियो । दुर्घटनालगत्तै बस चालक झापाको अर्जुनधारा नगरपालिका-१ निवासी गोपाल अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।




