पशुपतिमा मानवताकै चीरहरण: पशुपति आर्यघाटमा जलिरहेको शवबाट हड्डी र मासु निकाल्ने समूह पक्राउ

काठमाडौं । हिन्दु धर्मावलम्बीहरूको आस्थाको केन्द्र तथा पवित्र तीर्थस्थल पशुपति आर्यघाटमा एक अमानवीय र निकृष्ट घटना सार्वजनिक भएको छ । दाहसंस्कारका लागि चितामा जलिरहेको शवबाट हड्डी र मासु चोरेर बिक्री गर्न लागेको अवस्थामा प्रहरीले दुई जनालाई रंगेहात पक्राउ गरेको छ । 

महानगरीय प्रहरी वृत्त, गौशालाको टोलीले शव जलाउने काममा संलग्न गणेश ढकाल र उनका सहयोगीलाई गत शुक्रबार नियन्त्रणमा लिएको हो । काभ्रेका रामबहादुर शाहीको शव दाहसंस्कार भइरहँदा यो घृणित कार्य भएको थियो । मृतकका  परिवारजनले नै जलिरहेको शवबाट हड्डी र मासु निकालेर प्याक गरिरहेको देखेपछि आरोपीहरूलाई रंगेहात समातेका थिए ।

प्रत्यक्षदर्शी परिवारका सदस्यहरूका अनुसार, उनीहरूले ढकाललाई रंगेहात समातेपछि त्यहाँ भनाभनको स्थिति सिर्जना भएको थियो । तत्कालै प्रहरीलाई खबर गरेपछि गौशालाबाट खटिएको टोलीले दुवै जनालाई पक्राउ गरेको थियो । गौशाला प्रहरी वृत्तका सूचना अधिकारी, प्रहरी नायब निरीक्षक (सई) सुकदेव खनालले घटना अत्यन्तै संवेदनशील र दुर्लभ प्रकृतिको भएको बताए । उनले भने, ‘शव जलाउने क्रममा नै यस्तो कार्य भएको देखेपछि मृतकका आफन्तले हामीलाई खबर गर्नुभयो। हामीले तत्कालै आरोपीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेका छौं ।’

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेअनुसार, पक्राउ परेका ढकालले शवबाट निकालिएको मासु र हड्डी जम्मा ५ सय रुपैयाँमा बेच्ने योजना बनाएका थिए । सो रकममध्ये ४ सय रुपैयाँ आफूले राख्ने र बाँकी १ सय रुपैयाँ आफ्ना सहयोगी मैनाली थरका व्यक्तिलाई दिने सहमति भएको पाइएको छ ।

यति सानो रकमका लागि गरिएको यस्तो घृणित कार्यले धेरैलाई स्तब्ध बनाएको छ । केहीले भने तान्त्रिक क्रियाकलाप वा ‘मसान जगाउन’ यस्ता वस्तुहरूको खरिद-बिक्री हुने गरेको हुन सक्ने आशंका समेत गरेका छन् ।

शवको अंग चोरी तथा बिक्री-वितरण सम्बन्धी कुनै स्पष्ट कानुनी व्यवस्था नहुँदा प्रहरीलाई अनुसन्धान र कारबाही प्रक्रिया अगाडि बढाउन चुनौती थपिएको छ । हाल प्रहरीले मुलुकी अपराध संहिता, २०७४ को दफा ११८ अनुसार ‘अभद्र व्यवहार’ गरेको कसुरमा मुद्दा चलाएर अनुसन्धान अघि बढाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री