दैलेखमा तीजको नाच हेरेर फर्किंदै गरेकी बालिकामाथि सामूहिक बलात्कार

काठमाडौं । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिकामा तीजको रमाइलो हेरेर घर फर्किंदै गरेकी एक १२ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको छ । साउन २२ गते साँझ भएको यस घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चामुण्डा बिन्द्रासैनी नगरपालिका-८ का २३ वर्षीय गोविन्दबहादुर शाही र २५ वर्षीय खगेन्द्र भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूले बालिकालाई लखेटेर पालैपालो बलात्कार गरेको खुलेको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक लालबहादुर सुनारका अनुसार, साउन २२ गते राति तीजको नाच हेरिसकेपछि ४/५ जनाको समूहमा घर फर्किरहेका किशोरीहरूलाई शाही र भण्डारीले पिछा गरेका थिए ।

युवकहरूले पिछा गरेको थाहा पाएपछि किशोरीहरू डराएर भाग्न थालेका थिए । ‘भाग्दै गरेकी एक बालिकालाई उनीहरूले ढुंगाले प्रहार गरे, हातमा चोट लागेर उनी लडिन्,’ प्रहरी निरीक्षक सुनारले भने । बालिका लडेपछि आरोपितहरूले उनलाई एकान्तमा लगेर पालैपालो बलात्कार गरेको प्रहरीले जनाएको छ ।

पीडित बालिकासँगै रहेका अन्य साथीहरूले भागेर घटनाबारे परिवारलाई खबर गरेका थिए । अभिभावकहरू घटनास्थल पुग्दा आरोपितहरू बालिकालाई अचेत अवस्थामै छाडेर भागेका थिए । घटनालगत्तै बालिकालाई उपचारका लागि जिल्ला अस्पताल दैलेखमा भर्ना गरिएको छ ।

चिकित्सकका अनुसार बालिकाको दाहिने हातमा चोट लागेको छ भने गुप्तांगमा पनि घाउ देखिएको छ । पीडित बालिकाका आफन्तले शुक्रबार दिएको जाहेरीका आधारमा प्रहरीले दुवै आरोपितलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री