- स्पेनी लगानीका लागि पर्यटन, ऊर्जा र सूचना प्रविधि प्रमुख क्षेत्र, समझदारीपत्रले युरोप प्रवेशको ढोका खोल्ने अध्यक्ष ढकालको विश्वास
काठमाडौं । नेपाल र स्पेनबीचको आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यका साथ नेपाल उद्योग वाणिज्य महासंघ र स्पेन चेम्बर अफ कमर्सबीच संस्थागत सहकार्यको ढोका खुलेको छ। महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र नेपाल भ्रमणमा रहेकी स्पेन चेम्बर अफ कमर्सकी कार्यकारी प्रमुख इमाकुलाडा रियरा रेनेबीच शुक्रबार महासंघ सचिवालयमा भएको भेटवार्तामा व्यापार, लगानी, प्रविधि हस्तान्तरण र साना तथा मझौला उद्यमको विकासमा मिलेर काम गर्ने सहमति भएको हो।
यो सहकार्यलाई औपचारिक रूप दिन दुवै संस्था छिट्टै एक समझदारीपत्र (MoU) मा हस्ताक्षर गर्न सहमत भएका छन्, जसले नेपाली उत्पादन र व्यवसायका लागि युरोपेली बजारसम्मको पहुँच सहज बनाउने अपेक्षा गरिएको छ।
भेटका क्रममा महासंघका अध्यक्ष ढकालले स्पेनसँगको साझेदारीमार्फत नेपालमा आवश्यक प्रविधि, पुँजी र व्यावसायिक अनुभव भित्र्याउन निजी क्षेत्र आतुर रहेको बताए। उनले प्रस्तावित समझदारीपत्रको मस्यौदाले दुई देशबीच दीर्घकालीन सम्बन्धको बलियो आधार तयार पारेको भन्दै आभार व्यक्त गरे। “यो समझदारीपत्र व्यापार प्रवर्द्धन, लगानी आकर्षण, बजार सूचना आदानप्रदान र प्रतिनिधिमण्डलको सहयोग जस्ता व्यावहारिक पक्षमा केन्द्रित छ,” अध्यक्ष ढकालले भने, “यसले संयुक्त लगानी र ज्ञान साझेदारीका लागि एक सशक्त मञ्च प्रदान गर्नेछ।”
अध्यक्ष ढकालले नेपालमा भएका नीतिगत सुधारहरूले विदेशी लगानीका लागि अनुकूल वातावरण सिर्जना गरेको बताउँदै स्पेनिस लगानीकर्ताका लागि पर्यटन, पूर्वाधार, जलविद्युत, नवीकरणीय ऊर्जा, कृषि प्रशोधन र सूचना प्रविधि जस्ता क्षेत्रहरू अत्यन्तै आकर्षक र सम्भावनायुक्त रहेको औंल्याए। उनले भने, “यो समझदारीले स्पेनिस व्यवसायीलाई नेपाल बुझ्न र नेपाली व्यवसायीलाई स्पेनलाई युरोप प्रवेशको ढोका बनाउन मद्दत गर्नेछ।”
त्यसैगरी, स्पेन चेम्बरकी प्रमुख रियराले नेपालमा लगानीको सम्भावना ‘अत्यन्त आकर्षक’ रहेको टिप्पणी गर्दै दुई देशबीचको व्यापारिक सहकार्यलाई थप सशक्त बनाउन आफ्नो संस्था इच्छुक रहेको बताइन्। उनले पर्यटन, प्रविधि, कृषि र ऊर्जा जस्ता क्षेत्रमा सहकार्यको ठूलो सम्भावना रहेको उल्लेख गर्दै महासंघसँग हुने समझदारीले निजी क्षेत्रबीचको विश्वास र समन्वयलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरिन्।
भेटवार्तामा दुवै पक्षले नेपाल र स्पेन दुवै देशको अर्थतन्त्रमा मेरुदण्डको रूपमा रहेका साना तथा मझौला उद्यम (SMEs) को विकास र सहकार्यमा विशेष जोड दिएका थिए।
गत जुन महिनामा स्पेनमा भएको एक कार्यक्रममा महासंघका अध्यक्ष ढकालले स्पेनी चेम्बरकी प्रमुख रियरालाई नेपाल भ्रमणको निम्तो दिएका थिए। सोही निम्तो स्वीकार गर्दै उनी नेपाल आएकी हुन्। भेटवार्तामा महासंघका पूर्वअध्यक्ष चन्डीराज ढकाल र कोषाध्यक्ष भरतराज आचार्यको पनि उपस्थिति थियो।




