सामाजिक सञ्जालको हल्लामा सेयर किन्दै हुनुहुन्छ ? नेप्सेको चेतावनी- ‘तपाईंको लगानी डुब्न सक्छ’

काठमाडौं । पछिल्लो समय फेसबुक, टिकटक, एक्स (पहिलेको ट्विटर) जस्ता सामाजिक सञ्जालमा सेयर बजारबारे अनेकन समूह र स्वघोषित विश्लेषकहरूले दिने अपुष्ट सूचना र प्रलोभनमा परेर लगानी गर्ने क्रम बढेको छ । यस्तो प्रवृत्तिका कारण सर्वसाधारण लगानीकर्ता ठगिने र आफ्नो पुँजी गुमाउने जोखिम बढेको भन्दै नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले कडा चेतावनी जारी गरेको छ ।

नेप्सेले एक सार्वजनिक सूचना जारी गर्दै सामाजिक सञ्जालमा आउने भ्रामक, अपुष्ट र लोभलाग्दो प्रस्तावहरूमा विश्वास नगर्न आम लगानीकर्तालाई सचेत गराएको हो। ‘फेसबुक, टिकटक, ट्विटर लगायतका सामाजिक सञ्जाल मार्फत आउने प्रस्तावका भरमा लगानी नगरौं,’ नेप्सेले भनेको छ, ‘यस्ता माध्यमबाट फैलिने हल्लाले लगानी जोखिममा पर्न सक्छ।’

विज्ञहरूका अनुसार, सामाजिक सञ्जालमा सक्रिय केही समूहले निश्चित कम्पनीको सेयर मूल्य कृत्रिम रूपमा बढाउन वा घटाउन संगठित रूपमा प्रचारबाजी गर्ने गरेका छन्। यस्ता समूहले नयाँ र अनुभवहीन लगानीकर्तालाई सजिलै फसाउने र उनीहरूलाई क्षणिक लाभको सपना देखाएर आफ्नो स्वार्थ पूरा गर्ने गरेको पाइएको छ। नेपालमा हालसम्म कुनै पनि निकायबाट कोही पनि व्यक्ति वा संस्था आधिकारिक ‘बजार विश्लेषक’ का रूपमा दर्ता नभएको नेप्सेले स्पष्ट पारेको छ। त्यसैले, सामाजिक सञ्जालमा आफूलाई विज्ञ बताउनेहरूको विश्लेषण पूर्णतया अनधिकृत र जोखिमपूर्ण हुन्छ।

कसरी गर्ने सुरक्षित कारोबार?

नेप्सेले सेयर बजारमा लगानी गर्दा एकमात्र सुरक्षित र कानूनी बाटो भनेको नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति प्राप्त गरेको लाइसेन्सवाला सेयर ब्रोकरमार्फत कारोबार गर्नु नै रहेको कुरा पुनः स्मरण गराएको छ। आधिकारिक ब्रोकरमार्फत गरिने कारोबार पूर्णतः कानूनी, पारदर्शी, सुरक्षित र अभिलेखीकृत हुने हुँदा कुनै समस्या आएमा कानूनी उपचार खोज्न पनि सहज हुन्छ।

पछिल्लो समय सेयर बजारमा ११ करोड रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा एक सेयर ब्रोकर कम्पनीका महाप्रबन्धक पक्राउ परेको घटनाले पनि बजारमा हुनसक्ने जोखिमलाई उजागर गरेको छ।यस्ता घटनाले लगानीकर्तालाई थप चनाखो बन्न र हल्लाको पछि नलागी आधिकारिक माध्यम मात्र प्रयोग गर्नुपर्ने पाठ सिकाउँछ।

धितोपत्र बजारको नियामक निकाय सेबोनले पनि समय-समयमा बजारलाई प्रभावित पार्ने गरी सामाजिक सञ्जालमा गरिने गतिविधिमाथि निगरानी गरिरहेको र दोषी पाइएमा कानूनबमोजिम कारबाही गर्ने चेतावनी दिँदै आएको छ। तसर्थ, कुनै पनि लगानीकर्ताले हल्ला वा कसैको लहैलहैमा लागेर आफ्नो मिहिनेतको कमाइ जोखिममा पार्नुभन्दा कम्पनीको वास्तविक वित्तीय अवस्था, भविष्यको योजना र आधिकारिक स्रोतबाट प्राप्त सूचनाका आधारमा मात्र लगानीसम्बन्धी निर्णय लिनु बुद्धिमानी हुन्छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री