फोनपे ‘पिसिआई डिएसएस’ प्रमाणित पिएसओ बन्न सफल

काठमाडौँ । नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक (पिएसओ) फोनपेले विश्वव्यापी रुपमा सबैभन्दा प्रतिष्ठित मानिने भुक्तानी सुरक्षा मापदण्ड, ‘पेमेन्ट कार्ड इन्डस्ट्री डेटा सेक्युरिटी स्ट्यान्डर्ड (पिसिआई डिएसएस) भर्जन ४.०.१’ को लेभल १ प्रमाणीकरण प्राप्त गरेको छ । यो भुक्तानी कार्ड डेटा सुरक्षाको सबैभन्दा उच्च स्तरको अन्तर्राष्ट्रिय मान्यता हो, जसले फोनपेको नेटवर्कमार्फत हुने हरेक कारोबारमा उच्चतम सुरक्षा सुनिश्चित गर्ने प्रतिबद्धतालाई प्रमाणित गरेको छ ।

यो महत्वपूर्ण उपलब्धिले फोनपेलाई डिजिटल भुक्तानीको क्षेत्रमा एक अग्रणी र विश्वसनीय संस्थाको रुपमा स्थापित गरेको छ । यस प्रमाणीकरणले प्रयोगकर्ता, साझेदार बैंक तथा वित्तीय संस्थाहरू, ई-वालेटहरू र नियामक निकायहरूमाझ फोनपेको सुरक्षा प्रणालीप्रतिको विश्वासलाई अझ मजबुत बनाएको छ ।

फोनपेको प्रतिबद्धता र लगानीको प्रतिफल

यो प्रतिष्ठित प्रमाणपत्र प्राप्त गर्नका लागि फोनपेले आफ्नो प्राविधिक संरचना, सुरक्षा नीति र निगरानी प्रणालीमा ठूलो लगानी गरेको छ । एक स्वतन्त्र र अन्तर्राष्ट्रिय स्तरमा मान्यताप्राप्त ‘क्वालिफाइड सेक्युरिटी एसेसर’ (QSA) द्वारा गरिएको विस्तृत मूल्यांकन र अडिटपश्चात् फोनपेलाई यो प्रमाणपत्र प्रदान गरिएको हो । यस सफलताले कार्डधारकको डेटा सुरक्षित राख्न र आफ्नो सुरक्षा पूर्वाधारलाई अन्तर्राष्ट्रिय स्तरमा अब्बल बनाउन फोनपेले गरेको गम्भीर लगानी र प्रतिबद्धतालाई स्पष्ट रूपमा दर्शाउँछ ।

फोनपेका प्रमुख सञ्चालन अधिकृत (सिओओ) पारश कुँवरले यस अवसरमा भन्नुभयो, “सुरक्षा कुनै एकपटक हासिल हुने लक्ष्य होइन, यो निरन्तर गरिने प्रयास हो । पिसिआई डिएसएस लेभल १ प्रमाणपत्र प्राप्त गर्नु भनेको डेटा सुरक्षालाई प्राथमिकतामा राख्दै, बलियो पेमेन्ट इकोसिस्टम निर्माण गर्न हाम्रो संयुक्त प्रयासको मान्यता हो । यस प्रमाणपत्रले फोनपे पेमेन्ट नेटवर्कमाथि रहेका हाम्रा साझेदार बैंक तथा वित्तीय संस्था, इवालेटहरू तथा सम्पूर्ण ग्राहक वर्गको डेटा सुरक्षामाथिको विश्वासनीयता थप सुदृढ गर्न मद्दत गर्नेछ ।”

प्रयोगकर्ता र साझेदारहरूलाई के फाइदा?

फोनपेको यो नयाँ प्रमाणीकरणले आम प्रयोगकर्तालाई उनीहरूले गर्ने हरेक डिजिटल कारोबार अब अझ सुरक्षित भएको सुनिश्चितता प्रदान गर्दछ । जब कुनै प्रयोगकर्ताले आफ्नो मोबाइल बैंकिङ एप वा इ-वालेटमार्फत फोनपेको नेटवर्क प्रयोग गरी क्यूआर कोड स्क्यान गरेर भुक्तानी गर्छन्, उनीहरूको व्यक्तिगत र वित्तीय जानकारी अत्याधुनिक सुरक्षा प्रणालीले सुरक्षित राखेको हुन्छ भन्ने विश्वास दिलाउँछ ।

यसैगरी, फोनपे नेटवर्कमा आबद्ध बैंक तथा वित्तीय संस्थाहरू र व्यापारिक साझेदारहरूका लागि पनि यो एक महत्वपूर्ण उपलब्धि हो । यसले उनीहरूको प्रणालीलाई सम्भावित डेटा जोखिमबाट बचाउनुका साथै समग्र डिजिटल भुक्तानी इकोसिस्टमलाई नै बलियो बनाउँछ ।

नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त फोनपेले लाखौं मोबाइल बैंकिङ प्रयोगकर्ता, ५२ भन्दा बढी बैंक तथा वित्तीय संस्था र लाखौं मर्चेन्टहरूलाई आफ्नो नेटवर्कमार्फत जोडेको छ । यो नयाँ अन्तर्राष्ट्रिय सुरक्षा प्रमाणीकरणले नेपालको डिजिटल अर्थतन्त्रलाई थप सुरक्षित र विश्वसनीय बनाउने दिशामा एक महत्वपूर्ण कोशेढुङ्गा साबित भएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री