सानिमा रिलायन्स लाईफको ‘ब्राभो एनुअल कन्क्लेभ २०८२’ सम्पन्न, उत्कृष्ट कर्मचारी सम्मानित

काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको सफल कार्यसम्पादनको उत्सव मनाउँदै र आगामी वर्षका लागि नयाँ रणनीति तय गर्दै आफ्नो वार्षिक कार्यक्रम ‘ब्राभो एनुअल कन्क्लेभ २०८२’ पोखरामा सम्पन्न गरेको छ । कार्यक्रममा कम्पनीले गत आर्थिक वर्षमा ७०० करोड रुपैयाँको कीर्तिमानी बीमाशुल्क संकलन गर्न सफल भएको घोषणा गर्‍यो ।

कम्पनीका सञ्चालक समिति अध्यक्ष रतन लाल केडियाले उद्घाटन गरेको उक्त कार्यक्रममा देशभरका उत्कृष्ट कर्मचारी तथा विभागीय प्रमुखहरूलाई सम्मान गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष केडियाले ७०० करोडको लक्ष्य हासिल गरेकोमा सम्पूर्ण कर्मचारी टिमलाई बधाई दिए । उनले भने, ‘यो सफलताका लागि हामीले नयाँ प्रविधि र सोचलाई अंगाल्नैपर्छ । अब हरेक कर्मचारी आफ्नो कम्फर्ट जोनबाट बाहिर निस्केर थप मेहनत गर्नुपर्छ, जसले हामीलाई प्रतिस्पर्धात्मक बजारमा अग्रस्थानमा स्थापित गराउनेछ ।’ उनले नयाँ अभिकर्ताहरूको सञ्जाल विस्तारमा तीव्रता दिन पनि निर्देशन दिए ।

त्यसैगरी, कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले ‘असम्भव’ शब्दभित्रै ‘सम्भव’ लुकेको बताउँदै सकारात्मक सोच, सामूहिक प्रयास र निरन्तर मेहनतले जस्तोसुकै लक्ष्य हासिल गर्न सकिने धारणा राखे । उनले चालू आर्थिक वर्षको लक्ष्य प्राप्तिका लागि स्पष्ट कार्ययोजनासहित काम गर्न सम्पूर्ण कर्मचारीलाई उत्प्रेरित गरे ।

तीन दिनसम्म चलेको उक्त भव्य कार्यक्रममा गत आर्थिक वर्षमा विभिन्न विधामा उत्कृष्ट नतिजा हासिल गर्ने क्षेत्रीय प्रबन्धक, शाखा प्रमुख, मार्केटिङ अफिसरदेखि ग्राहक सेवा प्रतिनिधिहरूसम्मलाई सम्मान गरिएको थियो । कार्यक्रममा कम्पनीका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत राकेश पोखरेलले नयाँ र आकर्षक बीमा योजनामार्फत ग्राहक सङ्ख्या विस्तार गरिने जानकारी दिए । नायव प्रमुख कार्यकारी अधिकृत निराजन कँडेलले गत वर्षको तथ्यांक प्रस्तुत गर्दै चालू वर्षमा कम्पनीलाई नयाँ उचाइमा पुर्‍याउन सबैले अहोरात्र खटिनुपर्ने बताए ।

कार्यक्रमलाई थप ज्ञानबर्द्धक बनाउन आमन्त्रित गरिएकी चर्चित उत्प्रेरक मान्सी अग्रवालले असल नेतृत्वका गुण र त्यसको महत्त्वबारे प्रशिक्षण दिएकी थिइन् । कार्यक्रमले कर्मचारीहरूमा नयाँ ऊर्जा र उत्साह थप्दै आगामी वर्षका लागि स्पष्ट मार्गचित्र प्रदान गरेको कम्पनीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री