उत्तराखण्डमा बेपत्ता नेपालीको खोजी तीव्र पार्न दूतावासलाई परराष्ट्रमन्त्रीको निर्देशन

काठमाडौँ । परराष्ट्र मन्त्री आरजु राणा देउवाले भारतको उत्तराखण्डमा बाढीपहिरोमा परी बेपत्ता भएका नेपाली नागरिकहरूको खोजी तथा उद्धार कार्यलाई तीव्रता दिन नयाँ दिल्लीस्थित नेपाली दूतावासलाई निर्देशन दिएकी छन् । उनले भारतीय पक्षसँग समन्वय गरी तदारुकताका साथ उद्धार कार्यमा लाग्न निर्देशन दिएको स्पष्ट पारेकी हुन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत बिहान एक सन्देश जारी गर्दै मन्त्री देउवाले उत्तराखण्डमा नेपाली नागरिकहरू बेपत्ता भएको खबरले आफू निकै दुःखी भएको बताइन् । उनले नेपाल सरकारले घटनालगत्तै कूटनीतिक पहल सुरु गरिसकेको जानकारी दिएकी छन् ।

‘उहाँहरूको खोजी र उद्धारका लागि नेपाल सरकारले कूटनीतिक पहल सुरु गरिसकेको छ,’ मन्त्री देउवाले लेख्नुभएको छ, ‘नयाँ दिल्लीस्थित नेपाली राजदूतावासलाई हराएका नेपाली नागरिकहरूको खोजी तथा उद्धारका लागि भारत सरकारसँग समन्वय गरी तदारुकताका साथ लाग्न निर्देशन दिएकी छु ।’

उनको यो निर्देशन उत्तराखण्डको उत्तरकाशीमा साउन २० गते आएको बाढीपहिरोमा परी जाजरकोटका १३ र बर्दियाका ४ जना गरी कम्तीमा १७ नेपाली नागरिक बेपत्ता भएको खबर सार्वजनिक भएपछि आएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री