देशभर मनसुनी वायुको प्रभाव : पाँच प्रदेशमा भारी वर्षाको चेतावनी, सतर्कता अपनाउन आग्रह

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहे पनि जलवाष्पयुक्त हावा केही कमजोर हुँदा ठूलो वर्षाको क्रम केही मत्थर बनेको छ । यद्यपि, मौसम पूर्वानुमान महाशाखाले आज देशका पाँच प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

महाशाखाका अनुसार, मनसुनको न्यून चापीय रेखा हाल नेपालको तराई भूभागमा अवस्थित छ, जसका कारण देशभर मनसुन सक्रिय छ । हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रहेको छ भने कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो र राति देशभर सामान्यतया बदली रहनेछ । महाशाखाका अनुसार, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका धेरै स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

विशेषगरी, कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । आज राति भने कोशी र बागमती प्रदेशका पहाडी भूभागका केही स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान छ ।

महाशाखाले भारी वर्षा हुन सक्ने क्षेत्रहरूमा पहिरो, भू-क्षय, र नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने भन्दै ती क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन र सम्भावित जोखिमबाट बच्न विशेष अनुरोध गरेको छ । यात्रा गर्दा वा कृषि कार्यमा संलग्न हुँदा मौसमको अवस्थाबारे अद्यावधिक जानकारी लिन पनि सुझाइएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री