काठमाडौं । वैदेशिक रोजगारीको आकर्षक सपना देखाएर भारतको राजधानी दिल्लीमा बन्धक बनाइएका ४० जना नेपाली महिलाको उद्धार गरिएको छ । नेपालमा भिजिट भिसामा कडाइ गरिएपछि मानव तस्करहरूले भारतलाई नयाँ ‘ट्रान्जिट’ बनाएर खाडी मुलुक लैजान लागेका महिलाहरूलाई विभिन्न होटलबाट मुक्त गरिएको हो ।
नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका अनुसार, दुबई, कतार, ओमान, कुवेत र साउदी अरबजस्ता देशमा आकर्षक रोजगारी मिलाइदिने प्रलोभनमा पारी दलालहरूले ती महिलाहरूलाई दिल्ली पुर्याएका थिए । ब्यूरोका प्रवक्ता नरेन्द्र कुँवरले दिल्लीको महिपालपुर क्षेत्रका चारवटा फरक-फरक होटलबाट ४० जना नेपाली महिलाको उद्धार गरिएको पुष्टि गरे । उनका अनुसार, भारतीय विमानस्थल प्रयोग गरी खाडी पठाउने योजनासहित उनीहरूलाई बन्धक बनाइएको थियो ।
उद्धार कार्यमा संलग्न गैरसरकारी संस्था ‘केआईएन इन्डिया’का निर्देशक नविन जोशीका अनुसार, केही दिनअघि नेपाली महिलाहरूलाई बन्धक बनाइएको र दलालहरू सम्पर्कविहीन भएको सूचना प्राप्त भएको थियो । “सूचनाको विश्वसनीयता पुष्टि भएपछि हामीले दिल्लीस्थित नेपाली दूतावास र प्रहरीसँगको समन्वयमा उद्धार अभियान चलाएका हौं,” जोशीले भने, “उद्धार गरिएकाहरूलाई नेपाल फर्काउने प्रक्रिया सुरु भइसकेको छ।”
पीडित महिलाहरूका अनुसार, दलालहरूले ‘आज उडान हुन्छ, भोलि हुन्छ’ भन्दै महिनौंदेखि अल्झाइरहेका थिए । धेरैजसो महिलाहरू होटलमा बस्दाबस्दै बेखर्ची भइसकेका थिए भने उनीहरूलाई होटल बाहिर निस्कन समेत दिइएको थिएन । झनै दुःखद कुरा, उद्धार गरिएकामध्ये तीन जना महिलासँग पासपोर्टसमेत थिएन । दलालहरूले उनीहरूलाई भारतमै पासपोर्ट बनाइदिने र कुवेत पठाइदिने झुठो आश्वासन दिएर सडकमार्ग हुँदै दिल्ली पुर्याएको खुलेको छ ।
यो घटनाले नेपालमा हुने कडाइ छल्न मानव तस्करहरूले भारतको खुला सिमानालाई कसरी दुरुपयोग गरिरहेका छन् भन्ने खतरनाक यथार्थलाई उजागर गरेको छ ।




