हाउस्टन । एक ७ वर्षीया आप्रवासी बालिका अमेरिकी हिरासतमा मारिएको घटना सेलाउन नपाउँदै फेरि ८ वर्षीय बालकको पनि हिरासतमा लिएपछि मृत्यु भएको समाचार सार्वजनिक भएको छ । यसअघि मृत्यु भएकी बालिका ग्वाटेमालाकी भएकोमा बालक पनि सोही देशका भएको जनाइएको छ ।
अमेरिका छिर्नका लागि अभिभावकसँग मेक्सिकोको सीमा क्षेत्रमा आइपुगेका बालबालिका प्रहरीले हिरासतमा लिएपछि बिरामी भएर मृत्युको मुखमा पर्न थालेका हुन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको सीमामा पर्खाल बनाउनका लागि संसदमा बजेट स्वीकृत गराउन खोज्दा स्वीकृत नभएपछि केही दिन देखि अमेरिका आंशिक रुपमा बन्दको अवस्थामा रहेको छ । गएको सोमबार ८ वर्षीय बालकले आफू बिरामी भएको संकेत गरेकाले स्थानीय अलामोगोर्डो अस्पतालमा उनका बाबुसँगै लगिएको थियो ।
उनलाई चीसो र ज्वरोले सताएको पहिचान भएको थियो । ९० मिनेट सम्म अबजरभेसनमा राखेर ती बालकलाई छोडिएको जनाइएको छ । उनी सोही दिन साँझ अस्पतालमा गएको र वान्ता गरेर त्यहीं मृत्यु भएको जनाइएको छ । अमेरिकालाई केही दिन अघि मात्रै संयुक्त राष्ट्र संघले बालबालिकालाई सीमा क्षेत्रमा हिरासतमा नलिन र पहिला मृत्यु भएकी बालिकाको हकमा निस्पक्ष छानबिन गर्न आग्रह गरेको थियो । (एजेन्सी)
प्रतिकृया दिनुहॊस