बीपी प्रतिष्ठानमा अब मोबाइलबाटै ओपीडी टिकट, स्वास्थ्य बीमा भएकालाई झनै सहज

धरान । पूर्वी नेपालको स्वास्थ्य सेवाको धरोहर मानिने बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले डिजिटल स्वास्थ्य सेवामा एक उल्लेखनीय फड्को मारेको छ । मिदास हेल्थ सर्भिसेजसँगको सहकार्यमा बुधबार सार्वजनिक गरिएको नयाँ मोबाइल एपले अब बिरामीहरूले ओपीडी टिकट काट्न, डाक्टरसँग समय लिन र प्रयोगशालाको रिपोर्ट हेर्न अस्पतालको लम्बेतान लाइनमा बस्नुपर्ने बाध्यतालाई अन्त्य गरिदिएको छ ।

यो एपको सबैभन्दा महत्त्वपूर्ण र अद्वितीय विशेषता भनेको यसलाई नेपाल सरकारको स्वास्थ्य बीमा बोर्डको प्रणालीसँग सोझै जोडिनु हो । यसले स्वास्थ्य बीमा गरेका बिरामीहरूका लागि सेवा लिन क्रान्तिकारी सहजता ल्याएको छ । अब बीमितहरूले एपबाटै आफ्नो बीमाको अवस्था प्रमाणित गर्न, स्वतः निःशुल्क ओपीडी टिकट बुक गर्न र बीमाले समेट्ने अन्य सेवाहरू सहजै उपभोग गर्न सक्नेछन् ।

प्रतिष्ठानले यो प्रविधिमैत्री कदमले गुणस्तरीय स्वास्थ्य सेवालाई सबैको पहुँचमा पुर्‍याउने आफ्नो प्रतिबद्धतालाई चरितार्थ गरेको जनाएको छ । “अब बिरामीलाई टिकट लिन वा रिपोर्ट खोज्नकै लागि अस्पताल धाउनु पर्ने अवस्था रहने छैन,” प्रतिष्ठानले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

वि.सं. २०४९ मा स्थापित भई २०५५ देखि स्वायत्त विश्वविद्यालयको रूपमा सञ्चालित बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले पूर्वी नेपालमा स्वास्थ्य सेवा र शिक्षाको क्षेत्रमा नेतृत्वदायी भूमिका खेल्दै आएको छ । यो एपको शुभारम्भले डिजिटल स्वास्थ्य सेवा प्रवर्द्धनमा प्रतिष्ठानको प्रतिबद्धतालाई थप बलियो बनाएको छ ।

मिदास हेल्थ सर्भिसेजका अनुसार एपमार्फत अनलाइन भुक्तानी, अपोइन्टमेन्ट निर्धारण र डिजिटल रिपोर्ट पहुँच जस्ता सुविधाले बिरामीको समय र झन्झट दुवै बचाउनेछ । बी.पी. प्रतिष्ठान र मिदास हेल्थ सर्भिसेजबीचको यो सहकार्यले नेपालको डिजिटल स्वास्थ्य सेवाको रूपान्तरणमा एक महत्त्वपूर्ण कोसेढुङ्गा साबित हुने दुवै संस्थाले विश्वास लिएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री