नेपाली बजारमा वाइवाइको आधिपत्य कायमै, विश्व बजारमा पकड जमाउँदै

काठमाडौँ । नेपाली चाउचाउ बजारमा विगत साढे चार दशकदेखि आफ्नो छुट्टै पहिचान बनाएको वाइवाइले आर्थिक वर्ष २०८१/८२ मा १५ प्रतिशतको वृद्धिदर हासिल गर्दै आफ्नो बजार हिस्सा ६० प्रतिशतभन्दा माथि पुर्‍याएको छ । यो सफलतासँगै वाइवाइले नेपालको तयारी चाउचाउ बजारमा आफ्नो आधिपत्यलाई थप मजबुत बनाएको छ ।

उत्पादक कम्पनी सिजी फुड्सका अनुसार वाइवाइले विशेषगरी २० रुपैयाँ मूल्य श्रेणीमा आफ्नो पकड अझ बलियो बनाउँदै करिब ७० प्रतिशत बजार हिस्सा ओगट्न सफल भएको छ । बजारको माग र उपभोक्ताको बदलिँदो स्वादलाई सम्बोधन गर्न कम्पनीले निरन्तर नयाँ उत्पादनहरू बजारमा ल्याइरहेको छ । हालै सार्वजनिक गरिएका ‘वाइवाइ क्वीक हट एन्ड स्पाइसी’ र ‘वाइवाइ क्वीक स्पाइसी चिज’ जस्ता उत्पादनले युवापुस्तालाई आकर्षित गरेको कम्पनीको भनाइ छ ।

सिजी फुड्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रदीप पुडासैनी भन्छन्, “ग्राहकको भरोसा, हाम्रो गुणस्तरप्रतिको निष्ठा र निरन्तरको आविष्कारले नै वाइवाइलाई हरेक सेग्मेन्टमा अग्रणी बनाएको हो । अब हाम्रो लक्ष्य स्पाइसी सेग्मेन्टमा पनि नेतृत्व गर्ने हो ।”

वाइवाइको सफलता नेपालमा मात्र सीमित छैन । यो नेपालको पहिलो र एकमात्र विश्वव्यापी ब्रान्डको रूपमा स्थापित भएको छ । हाल नेपालसहित भारत, बंगलादेश, सर्बिया, काजाकिस्तान र अफ्रिकी देशहरूमा यसको उत्पादन हुँदै आएको छ भने विश्वका ४० भन्दा बढी देशमा यो उपलब्ध छ । विश्वभर वार्षिक करिब चार अर्ब प्याकेट उत्पादन हुनेमा एक अर्ब प्याकेट नेपालमै उत्पादन हुनुले यसको घरेलु जग कति बलियो छ भन्ने देखाउँछ ।

विशेषगरी विदेशमा बस्ने लाखौँ नेपालीहरूका लागि वाइवाइ केवल चाउचाउ नभएर ‘घरतिरको स्वाद’ र आफ्नोपनको प्रतीक बनेको छ । “बिदाको पिकनिक होस् वा होस्टलको मध्यरात, लामो यात्रा होस् वा स्कुलको खाजा, वाइवाइ हरेक नेपालीको जीवनको अभिन्न साथी बनेको छ,” पुडासैनीले भने ।

विश्व चाउचाउ बजारको करिब चार प्रतिशत हिस्सा ओगटेको वाइवाइले अब अझ महत्वाकांक्षी लक्ष्य निर्धारण गरेको छ । कम्पनीले सन् २०२८ सम्ममा भारतीय बजारमा ३५ प्रतिशत हिस्सा लिने र विश्वभर वार्षिक पाँच अर्ब प्याकेट उत्पादन तथा बिक्री गर्ने लक्ष्य राखेको छ । यसका लागि सम्भावना भएका नयाँ देशहरूमा उद्योग विस्तार गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप